Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आत्मदाहपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको मृत्युले आफूहरूलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।
‘गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युले हामी सबैलाई स्तब्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने र पीडित परिवारलाई न्याय दिलाउने विश्वास लिएको छु,’ उनले भने।
सांसद खरेलले नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको भन्दै मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार दैनिक औसत १८ जनाले आत्महत्या गरिरहेको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ।
‘कोही झुन्डिएर, कोही विष सेवन गरेर, कोही आत्मदाह गरेर त कोही अन्य विभिन्न माध्यमबाट ज्यान गुमाइरहेका छन्। हरेक मृत्यु हाम्रो समाजका लागि पीडादायी विषय हो,’ उनले भने।
नेपालमा हरेक वर्ष करिब ७ हजार जनाले आत्महत्या गर्ने तथ्यांक रहेको उल्लेख गर्दै खरेलले मानसिक स्वास्थ्य समस्या ठूलो सामाजिक चुनौतीका रूपमा देखा परेको बताए। उनले जीवनकालमा झन्डै २५ प्रतिशत नेपाली कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने गरेको उल्लेख गर्दै यस क्षेत्रलाई नीति, कानुन, संरचना र सेवा विस्तारमार्फत प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखे।
मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई अब व्यवहारिक नीति, पर्याप्त सेवा र प्रभावकारी कार्यान्वयनसँग जोड्नुपर्नेमा उनले जोड दिएका छन्।
२०८३ असार २६
ताजा नेपाल
२०८३ असार २६
ताजा नेपाल
२०८३ असार २६
ताजा नेपाल