Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्तर कोरियाले आणविक क्षमता थप विस्तार गर्ने घोषणा

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक क्षमता गुणात्मक र संख्यात्मक दुवै हिसाबले थप सुदृढ बनाउने घोषणा गरेको छ। साथै दक्षिण कोरियासँग सम्बन्धित गतिविधिमाथि निगरानी बढाउन सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गरिने जनाएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) का अनुसार बिहीबार सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको बैठकमा यी विषयमा छलफल भएको थियो।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उसमाथि अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। ती प्रतिबन्धका बाबजुद प्योङयाङले आफ्नो रक्षा क्षमता थप सुदृढ बनाउने नीति निरन्तर अघि बढाइरहेको छ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक शान्ति सन्धिविना युद्धविराममा टुंगिएको थियो। त्यसैले उत्तर र दक्षिण कोरिया कानुनी रूपमा अझै पनि युद्धरत अवस्थामै रहेका मानिन्छन्।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनका अनुसार उत्तर कोरियाको पछिल्लो कदमले प्योङयाङले दक्षिण कोरियालाई पहिलेभन्दा अझ स्पष्ट रूपमा शत्रु राष्ट्रका रूपमा हेर्न थालेको संकेत गरेको छ।