Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा, अमेरिकालाई कडा चेतावनी

काठमाडौं । इरानले विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ। साथै, उक्त निर्णयविरुद्ध कुनै सैन्य वा अन्य कारबाही गरिए कडा जवाफ दिइने चेतावनी पनि दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का नौसेना अधिकारीलाई उद्धृत गर्दै सरकारी पक्षले एक जहाजले आफ्नो पहिचान प्रणाली बन्द गरी समुद्री सुरक्षामा खतरा उत्पन्न गरेपछि त्यसलाई रोकेर नियन्त्रणमा लिइएको जनाएको छ। यद्यपि, उक्त जहाजको परिचय सार्वजनिक गरिएको छैन।

आईआरजीसीका अनुसार केही जहाजहरूले अनधिकृत मार्गबाट हर्मुज जलडमरूमध्य प्रवेश गर्ने प्रयास गरेका थिए। चेतावनी दिँदा पनि बेवास्ता गरेपछि सुरक्षा उपाय कडा पारिएको दाबी गरिएको छ।

रोयटर्सका अनुसार आईआरजीसीले अर्को सूचना जारी नभएसम्म तथा यस क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज जलडमरूमध्य बन्द रहने जनाएको छ।

हालै युद्धविरामको सहमति भए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच तनाव पुनः चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रभावहीन बनेको दाबी गर्दै इरानको आग्रहमा वार्ता भने जारी रहेको बताएका छन्।

यसैबीच, इरानका वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदला लिइने बताएका छन्। शनिबार उनको नाममा जारी लिखित सन्देशमा फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका अली खामेनीसहित सबै ‘सहिद’को रगतको बदला लिइने उल्लेख गरिएको छ।

सन्देशमा अन्त्येष्टिमा सहभागी भएकाप्रति आभार व्यक्त गर्दै अपराधी ठहर गरिएका व्यक्तिहरूलाई कुनै पनि हालतमा नछोडिने चेतावनी दिइएको छ। साथै, विश्वभरका ‘स्वतन्त्रताप्रेमी’हरूले पनि त्यस अभियानमा साथ दिने दाबी गरिएको छ।

यद्यपि, सर्वोच्च नेता नियुक्त भएपछि मोज्तबा खामेनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनी अली खामेनीको अन्त्येष्टिमा पनि सहभागी भएका थिएनन् भने हालसम्म उनका तर्फबाट लिखित सन्देश मात्रै सार्वजनिक हुँदै आएका छन्।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूलाई हत्या गर्ने प्रयास भए इरानमाथि कठोर सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले इरानले अमेरिकाका राष्ट्रपतिमाथि आक्रमण गरे वा त्यसको प्रयास गरे अमेरिकी सेना इरानका सबै रणनीतिक लक्ष्य ध्वस्त पार्न सक्षम र तयार रहेको दाबी गरेका छन्।