Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दुबई । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’को नियन्त्रणलाई लिएर अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। दुवै पक्षले जलमार्गमा आफ्नो प्रभाव कायम रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य कारबाहीले ६० दिने अन्तरिम युद्धविरामको प्रयासलाई थप कमजोर बनाएको छ।
तनाव कुवेत, बहराइनलगायत खाडी क्षेत्रका मुलुकसम्म फैलिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण युद्ध पुनः सुरु भए त्यसको परिणाम विनाशकारी हुन सक्ने चेतावनी दिँदै दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
कुवेतले सोमबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका सम्भावित खतराप्रति जवाफी कारबाही गरेको जनाएको छ। इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियास्वरूप उक्त प्रहार गरेको दाबी गरे पनि कुवेती सेनाले कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको पुष्टि गरेको छैन। बहराइनले पनि सम्भावित मिसाइल खतरालाई ध्यानमा राख्दै दुई पटक चेतावनी साइरन बजाएको छ।
ओमानको तट नजिक इरानले एक कन्टेनर जहाजलाई लक्षित गरेपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग फेरि अन्तर्राष्ट्रिय चिन्ताको केन्द्र बनेको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले ऊर्जा बजारमा प्रत्यक्ष असर पर्ने विश्लेषण गरिएको छ।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक समय प्रतिव्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो। पछिल्ला दिनमा मूल्य केही घटे पनि आपूर्ति र समुद्री सुरक्षाप्रतिको अनिश्चितता कायमै रहेको बताइएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सोमबार इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधार र साना नौकासहित दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। सेन्ट्रल कमान्डले हर्मुज जलमार्ग विश्वव्यापी व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण भएकाले त्यसमा इरानको एकल नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मात्र करिब १४० सैन्य लक्ष्यमा आक्रमण गरिएको पुष्टि गरेका थिए।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणका क्रममा विभिन्न स्थानमा विस्फोट भएका छन् भने कम्तीमा एक जनाको मृत्यु भएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्डले अमेरिकी दाबी अस्वीकार गर्दै हर्मुज जलमार्ग आफ्नो प्रभाव क्षेत्रमा पर्ने र बाह्य सैन्य हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्याएको छ। गार्डले आवश्यक परे थप प्रतिकारात्मक कदम चाल्ने चेतावनी पनि दिएको छ।
आइतबार इरानले गरेको प्रतिआक्रमण बहराइन, कुवेत, कतार, जोर्डन र ओमानसम्म फैलिएको बताइएको छ। इरान र पश्चिमबीच लामो समयदेखि मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले पछिल्लो घटनाप्रति असन्तुष्टि जनाउँदै इरानी कूटनीतिज्ञलाई बोलाएर विरोध जनाएको छ।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले आफ्ना पिता अयातुल्ला अली खमेनीको अन्त्येष्टिपछि पहिलो सार्वजनिक वक्तव्य जारी गर्दै इरानमाथि भएका आक्रमणको प्रतिशोध लिइने बताएका छन्।
तनाव बढिरहे पनि पाकिस्तान, कतार र इजिप्टलगायतका मुलुकले स्थायी युद्धविरामका लागि कूटनीतिक पहल जारी राखेका छन्। पाकिस्तानले आफ्ना विदेशमन्त्रीले इरानका वरिष्ठ कूटनीतिज्ञसँग टेलिफोन संवाद गरी तत्काल तनाव कम गर्न आग्रह गरेको जनाएको छ।
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल
२०८३ असार ३१
ताजा नेपाल