Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोशी खोलाको जलस्तर घटेपछि बिपी राजमार्ग पुनः सञ्चालनमा

रामेछाप । रोशी खोलामा पानीको सतह घटेपछि हिजो दिउँसोदेखि अवरुद्ध रहेको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

निरन्तर वर्षाका कारण रोशी खोलाको बहाव बढेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले सोमबार दिउँसोदेखि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको थियो। जलस्तर घटेपछि सडक तथा अस्थायी डाइभर्सनको अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि यातायात पुनः सञ्चालनमा ल्याइएको हो।

राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका यात्रुवाहक तथा मालवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रहरीले अस्थायी डाइभर्सन प्रयोग गर्दा चालकलाई विशेष सावधानी अपनाउन, सवारीको गति नियन्त्रणमा राख्न तथा सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएपछि पुनर्निर्माण कार्य अझै जारी छ। त्यसैले हाल अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ।

सरोकारवाला निकायले वर्षायाममा रोशी खोलाको जलस्तर जुनसुकै बेला बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था, मौसमको जानकारी तथा सम्बन्धित निकायका सुरक्षा सूचनाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सबैलाई अनुरोध गरेका छन्।