Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। भेटमा वाम शक्तिबीच सहकार्य, प्रदेश सरकारमा सत्ता साझेदारी तथा पार्टी एकतासम्मका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार ओली गुण्डुबाट ललितपुर पुगेपछि दुई नेताबीच वार्ता भएको हो। छलफलमा प्रदेश सरकार गठनदेखि आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनसम्म सहकार्य गरेर अघि बढ्ने विषयमा सकारात्मक समझदारी बनेको बताइएको छ।
नेकपा उच्च स्रोतका अनुसार प्रचण्ड जनकपुरधामबाट फर्किएपछि सहकार्यसम्बन्धी लिखित सहमतिको प्रक्रिया अघि बढ्ने तयारी छ।
एमाले सचिव महेश बस्नेतले पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको पुष्टि गर्दै एमाले–नेकपा सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
बस्नेतले वाम शक्तिहरूबीचको सहकार्यले राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार गर्ने अपेक्षा पनि गरेका छन्।
कांग्रेस–एमाले गठबन्धन अन्त्य भएपछि एमाले र नेकपाबीच राजनीतिक संवाद तीव्र बनेको थियो। श्रीलंकाबाट फर्किएपछि प्रचण्डले सहकार्यलाई प्राथमिकता दिएका छन्। ओलीसँग भेटअघि उनले सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा छलफल गरेका थिए।
ओलीसँग भेटपछि जनकपुरधाम प्रस्थान गरेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका थिए।
यद्यपि, तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै उनले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग समेत छलफल भइरहेको जानकारी दिए।
मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पार्टीको संगठन सुदृढीकरण र प्रशिक्षण अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई साउन ६ गते संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल