Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग नयाँदिल्लीमा भेटवार्ता गरेको खुलासा भएको छ।
सरकार गठनको सय दिन पूरा भएपछि प्रधानमन्त्री शाहले भारत भ्रमणको गृहकार्य अघि बढाउने क्रममा जुलाईको पहिलो साता बेनलाई नयाँदिल्ली पठाएको स्रोतहरूले बताएका छन्। भ्रमणका क्रममा बेनसँग प्रधानमन्त्रीनिकट रोशन खड्का पनि सहभागी थिए।
प्रधानमन्त्री कार्यालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतका अनुसार बेनले डोभालसँग नेपालको वर्तमान सरकारको छिमेक नीति, द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे विस्तृत छलफल गरेका थिए। उनले भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको बताइएको छ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको सम्भावित एजेन्डा, समय र तयारीबारे छलफल भएको थियो। यद्यपि भ्रमणको मिति भने अझै तय भइसकेको छैन।
एक अधिकारीका अनुसार डोभालले प्रधानमन्त्री शाहलाई सकेसम्म छिटो भारत भ्रमण गराउन उपयुक्त हुने धारणा राखेका थिए। नयाँ जनादेशसहित नेतृत्वमा आएका युवा प्रधानमन्त्रीको प्रारम्भिक भ्रमणले द्विपक्षीय सम्बन्धमा सकारात्मक सन्देश दिने उनको भनाइ रहेको स्रोतले जनाएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नयाँ सरकारका प्राथमिकताबारे भारतीय नेतृत्वलाई जानकारी गराइसकेकाले बेनको भ्रमण मुख्यतः प्रधानमन्त्री शाहको भ्रमणको तयारीमा केन्द्रित भएको बताइएको छ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटका लागि समय नदिएको तथा केही कूटनीतिक विषयमा देखिएको दूरीका कारण नेपाल–भारत सम्बन्ध केही चिसिएको विश्लेषण हुँदै आएको थियो।
यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले आफ्ना प्रमुख सल्लाहकारलाई नयाँदिल्ली पठाएर भारतसँगको सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको सन्देश दिन खोजेको स्रोतहरूको भनाइ छ। दिल्लीबाट फर्किएपछि बेनले प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेलाई भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।
ब्रिफिङपछि प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पहिलो औपचारिक एकल भेटवार्ता हुने तयारी पनि अघि बढेको बताइएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जानुअघि नै भारत भ्रमण गर्ने तयारी गरिरहेका छन्। भ्रमणको मिति र एजेन्डाबारे दुवै देशबीच कूटनीतिक तहमा छलफल जारी रहेको जनाइएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि साउन महिनाभित्र नेपाल भ्रमण हुन सक्ने चर्चा राजनीतिक तथा कूटनीतिक वृत्तमा चलिरहेको छ। स्रोतहरूका अनुसार मोदीले पशुपतिनाथ मन्दिरमा पूजा तथा लुम्बिनी भ्रमण गर्न सक्ने सम्भावनाबारे अनौपचारिक छलफल भइरहेको छ। यद्यपि यसबारे दुवै सरकारबाट औपचारिक पुष्टि भने भइसकेको छैन।
२०८३ श्रावण ९
ताजा नेपाल
२०८३ श्रावण ९
ताजा नेपाल
२०८३ श्रावण ९
ताजा नेपाल