Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसभित्र सहमतिको प्रयास, राष्ट्रिय भेला तयारी भने यथावत्

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारीलाई तीव्र बनाइरहेका बेला सभापति गगन थापाले आन्तरिक सहमति खोज्ने प्रयास थालेका छन्। त्यसका लागि उनले दुवै पक्षको सहभागितामा कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेका छन्।

सभापति थापाले संस्थापन इतर पक्षसँग कार्यदलका लागि दुई जना सदस्यको नाम उपलब्ध गराउन आग्रह गरेका छन्। आइतबार कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरूसँगको भेटमा उनले चार सदस्यीय कार्यदल गठन गरी पार्टीभित्र देखिएको मतभेद समाधानका लागि छलफल अघि बढाउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार केन्द्रीय समिति बैठक अघि नै सहमतिको वातावरण बनाउने प्रयास भइरहेको छ।

यसअघि गत बिहीबार सभापति थापा नेता डा. शेखर कोइरालासँग भेटवार्ता गर्न धापासीस्थित निवास पुगेका थिए। भेटमा कार्यदलमार्फत साझा सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

सभापतिले संस्थापन पक्षबाट कार्यदलमा सहभागी हुने सदस्यबारे पनि आन्तरिक परामर्श गरेका छन्। सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्री उदयशमशेर राणा र राजेन्द्र केसीमध्ये दुई जना कार्यदलमा रहने सम्भावना छ।

चौधरीका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संरचनाबाहेकका विषयमा सभापति थापा लचक देखिएका छन्। १५औँ महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता समिति तथा विधान संशोधन समितिमा संस्थापन इतर पक्षलाई समेट्ने विषयमा पनि सकारात्मक छलफल भइरहेको उनले बताए।

यद्यपि, संस्थापन इतर पक्षले भने कार्यदलभन्दा राष्ट्रिय भेलाको तयारीलाई प्राथमिकता दिएको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको परिचालनका लागि संयोजक तोक्ने तयारी अघि बढाएको जनाएको छ।

कांग्रेस नेता श्याम घिमिरेले पार्टीभित्रको विवाद कार्यदलले नभई शीर्ष नेतृत्वबीचको प्रत्यक्ष संवादबाट मात्र समाधान हुने धारणा राखे। उनका अनुसार सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीचको वार्ताबाट मात्रै ठोस सहमति सम्भव छ।

नेता मीनबहादुर विश्वकर्माले पनि राष्ट्रिय भेला रोक्ने कुनै योजना नरहेको स्पष्ट पारे। उनले संवादका लागि पार्टी खुला रहे पनि राष्ट्रिय भेलाको तयारी निरन्तर अघि बढ्ने बताए।

उनका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि संयोजक तोक्ने र बढीभन्दा बढी कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको छ। सहमति भए राष्ट्रिय भेला एकता भेलामा परिणत हुन सक्ने, अन्यथा नयाँ राजनीतिक दिशा तय गरिने उनको भनाइ छ।