Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशन सम्पन्न गरेको एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले साउन १३ गते बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।
केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन्द्र शाहका नीति तथा सुशासन सल्लाहकार सुदीप ढकालका अनुसार बैठकमा संगठन सुदृढीकरण, महाधिवेशनको समीक्षा तथा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलगायत विषयमा छलफल हुनेछ।
रास्वपाले असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ जना केन्द्रीय सदस्य र ६ जना पदाधिकारी निर्वाचित गरेको थियो। पार्टी विधानअनुसार बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार सभापति लामिछानेलाई छ। यद्यपि, महाधिवेशन सम्पन्न भएको एक महिनासम्म पनि मनोनयन प्रक्रिया टुंगिएको छैन।
पार्टीभित्र एकता, समायोजन तथा नयाँ प्रवेश गरेका नेताहरूको व्यवस्थापनका लागि मनोनयन कोटा राखिएको बताइए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ।
पार्टी स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा सहमति बनेको छ। साथै उपसभापति, महामन्त्रीसहित केही पदाधिकारी र १८ जना केन्द्रीय सदस्यको स्थान बालेन समूहलाई दिने तयारी रहेको जनाइएको छ। उक्त समूहको कोटाबाट जेनजी आन्दोलनसँग आबद्ध व्यक्तित्व तथा आन्दोलनका क्रममा घाइते र सहिद परिवारका प्रतिनिधिलाई पनि समेट्ने छलफल भएको स्रोतको दाबी छ।
सभापति लामिछाने र बालेन्द्र शाहबीच पछिल्ला दिनमा पटक–पटक छलफल भए पनि बालेन समूहबाट पदाधिकारीका लागि अन्तिम नाम प्राप्त नभएकाले सबै मनोनयन यही बैठकबाट हुने सम्भावना कम रहेको नेताहरूको भनाइ छ।
यद्यपि, पार्टीको नियमित सञ्चालनलाई ध्यानमा राख्दै प्रवक्ता, कोषाध्यक्ष तथा केही केन्द्रीय सदस्यको मनोनयन भने बैठकबाट प्रस्ताव हुन सक्ने बताइएको छ। हाल प्रवक्ताका लागि प्रमोद न्यौपाने र कोषाध्यक्षका लागि लीमा अधिकारीको नाम चर्चामा रहे पनि सभापति लामिछानेले औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।
बैठकका लागि पाँचवटा मुख्य एजेन्डा तय गरिएको छ। जसमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधि तथा तर्जुमा, सांगठनिक व्यवस्थापन र मनोनयन, आगामी अभियान तथा कार्यक्रम निर्धारण र विविध विषय समावेश छन्।
बालेन समूहले आफ्नो भागमा पर्ने पदाधिकारीमा कसलाई पठाउने भन्ने विषयमा अझै अन्तिम निर्णय नगरेको स्रोतले जनाएको छ। उक्त समूहबाट सुनिल लम्साल, सुदीप ढकाल वा भूपदेव शाहमध्ये कुनै एक जना पदाधिकारी बन्न सक्ने चर्चा छ। साथै गृहमन्त्री सुधन गुरुङले पनि पदाधिकारीमा दाबी प्रस्तुत गरिरहेको पार्टीभित्र चर्चा रहेको छ।
२०८३ श्रावण १२
ताजा नेपाल
२०८३ श्रावण १२
ताजा नेपाल
२०८३ श्रावण १२
ताजा नेपाल