Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्दै कार्यस्थलमा सुरक्षित वातावरणको माग गरेका हुन्।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि आक्रमण गर्ने व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले घटनापछि भएको वार्ताका क्रममा चिकित्सकमाथि गरिएको दुर्व्यवहारको पनि विरोध गरेका छन्।
नेपाल चिकित्सक संघको आन्दोलनअन्तर्गत मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सेवा बन्द गरिएका छन्। यसका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा फलोअप सेवाका लागि अस्पताल पुगेका बिरामी प्रभावित भएका छन्।
यही घटनाको विरोधमा नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन्। चिकित्सकमाथि आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै उनीहरूले यस्तो कदम चालेका हुन्। नारायणी अस्पतालमा साउन ९ गतेदेखि नियमित स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ।
चिकित्सकहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, कार्यस्थलमा हुने हिंसा अन्त्य गर्न तथा दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल