Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानमाथिको आक्रमण रोकियो

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध प्रस्तावित सैन्य आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत शान्ति सम्झौताको रूपरेखा अन्तिम चरणमा पुगेको दाबी गर्दै आक्रमण स्थगित गरिएको बताएका हुन्।

ट्रम्पका अनुसार संयुक्त राज्य अमेरिकासँग दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा शक्तिशाली सैन्य क्षमता रहेको र आवश्यक परे इरानविरुद्ध कारबाही गर्न सक्षम भए पनि इरान तथा मध्यपूर्वका केही मुलुकको आग्रहपछि शान्ति प्रक्रियालाई अवसर दिने निर्णय गरिएको हो।

उनले प्रस्तावित सम्झौतामा विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य तत्काल, पूर्ण र निर्बाध रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहने उल्लेख गरेका छन्। साथै इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय पनि सम्झौतामा समेटिएको उनको दाबी छ।

ट्रम्पले विश्व शान्ति, मध्यपूर्वको स्थिरता तथा इरानको भविष्यलाई ध्यानमा राख्दै आक्रमण स्थगित गर्ने निर्णय गरिएको उल्लेख गर्दै इजरायलले पनि उक्त निर्णयमा समर्थन जनाएको दाबी गरेका छन्।

उनले सबै पक्षलाई शान्ति सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिन आग्रह गर्दै कूटनीतिक समाधान नै सबैका लागि हितकर हुने बताएका छन्।

यद्यपि ट्रम्पले गरेको दाबीबारे इरान, इजरायल वा अन्य सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भने सार्वजनिक भएको छैन। त्यसैले प्रस्तावित सम्झौताको वास्तविक अवस्था र कार्यान्वयनबारे अझै स्पष्ट हुन बाँकी छ।