Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निगमले टेकुबाट पाँच कम्पनीको एलपी ग्यास बिक्री सुरु गर्ने

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौंको टेकुस्थित आफ्नै कार्यालयबाट पाँच कम्पनीको ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ।

निगमले आइतबारदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ किलोका सिलिन्डर सम्बन्धित उद्योगमार्फत टेकुबाट बिक्री गर्ने व्यवस्था मिलाएको हो। निगमका अनुसार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म ग्यास बिक्री गरिनेछ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा ग्यासको वास्तविक अभाव नभई ७.१ किलोका सिलिन्डरबाट १४.२ किलोका सिलिन्डरमा उपभोक्ता ‘स्वीच’ भइरहेका कारण अस्थायी समस्या देखिएको बताए। उनका अनुसार बढीमा एक साताभित्र ग्यास आपूर्ति पूर्ण रूपमा सहज हुनेछ।

निगमका अनुसार गत जुलाई महिनामा करिब ४९ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको थियो। चालु साउन १ देखि १५ गतेसम्म पनि उद्योगीहरूले २६.५ मेट्रिकटन ग्यास आयात गरिसकेका छन्।

यद्यपि निगमले मागअनुसार ग्यास आयात भइरहेको दाबी गरे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन्। अधिकांश ग्यास बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई खाली हात फर्काइरहेका छन्।

बालाजुका उपभोक्ता नवराज पोखरेलले केही दिनदेखि ग्यास खोज्दा पसलमा उपलब्ध नभएको र नाम टिपाएर पालो कुर्नुपरेको बताए। पसलेले ग्यास आएपछि खबर गर्ने बताएका छन्।

निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै उद्योगीलाई बजारमा सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै घरायसी उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर बिक्री गर्न बिक्रेतालाई अनुरोध गरिएको छ।

निगमले दैनिक रूपमा मागअनुसार ग्यास आपूर्ति भइरहेको दोहोर्याउँदै ग्यास नपाएमा हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तासँग आग्रह गरेको छ।


सम्बन्धित समाचार