Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी १५औँ महाधिवेशन, विधानको व्याख्या र बढ्दो आन्तरिक विवादबीच नेपाली कांग्रेसले साउन २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
विशेष महाधिवेशनपछि नेतृत्वको वैधानिकता, क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच मतभेद तीव्र बनेको छ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने अडान लिएको छ भने इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।
दुवै पक्षबीच सहमति जुट्न नसकिरहेका बेला पार्टी विभाजन रोक्ने प्रयासस्वरूप ‘देश र कांग्रेस जोड्ने अभियान’ पनि सुरु भएको छ। पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर र राष्ट्रियसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा अघि बढाइएको अभियानले दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिरहेको छ।
यसैबीच, इतर पक्षको राष्ट्रिय भेलाको आयोजक समितिमा आफ्नो नाम विनाअनुमति समावेश गरिएको भन्दै राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले आपत्ति जनाएका छन्।
साउन २४ को बैठकमा महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता अद्यावधिक, विधानसम्बन्धी विवाद तथा इतर पक्षको राष्ट्रिय भेलालगायत विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूले यो बैठकलाई कांग्रेसको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन्।
२०८३ श्रावण १८
ताजा नेपाल
२०८३ श्रावण १८
ताजा नेपाल
२०८३ श्रावण १८
ताजा नेपाल