Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ चासोबीच काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बत सम्मेलन रोकियो

काठमाडौं । काठमाडौंमा आगामी भदौ ७ देखि १३ गतेसम्म आयोजना हुने तय भएको १७औँ इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) सम्मेलन सरकारले अन्तिम समयमा रोकिदिएको छ। सरकारको निर्देशनपछि स्थानीय आयोजक काठमाडौं विश्वविद्यालयले सम्मेलन स्थगित गर्दै आईएटीएस बोर्डलाई कार्यक्रम आयोजना गर्न नसकिने जानकारी गराएको छ।

सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र सचिव अमृतबहादुर राईले सोमबार काठमाडौं विश्वविद्यालयका निमित्त उपकुलपति ऋषिकेश वाग्ले, रजिस्ट्रार राजीव श्रेष्ठ तथा सम्मेलन संयोजक एवं हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) का निर्देशक सागरराज शर्मालाई बोलाएर हालका लागि सम्मेलन नगर्न निर्देशन दिएका थिए।

सम्मेलन संयोजक शर्माका अनुसार सरकारसँग समन्वयमै तयारी भइरहेको अवस्थामा मुख्यसचिवले ‘परिस्थिति अनुकूल नरहेकाले अहिलेका लागि सम्मेलन स्थगित गर्न’ आग्रह गरेपछि आयोजकले कार्यक्रम रोक्ने निर्णय गरेका हुन्।

सरकारले औपचारिक रूपमा कारण सार्वजनिक नगरे पनि मुख्यसचिवको निर्देशन प्रधानमन्त्री बालेन्द्र शाहकै जानकारी र निर्देशनमा आएको आयोजक पक्षको बुझाइ छ। यद्यपि सम्मेलन रोक्ने विषय मन्त्रिपरिषद्मा छलफल भएको जानकारी सार्वजनिक भएको छैन।

काठमाडौं विश्वविद्यालयअन्तर्गत हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज–राङजुङ इन्स्टिच्युटले आईएटीएस बोर्डसँगको सहकार्यमा सम्मेलन आयोजना गर्ने तयारी गरेका थिए। उद्घाटन धुलिखेलस्थित विश्वविद्यालय परिसरमा तथा मुख्य कार्यक्रम काठमाडौंको सोल्टी होटलमा गर्ने योजना थियो। सम्मेलनका लागि राजधानीका अधिकांश पाँचतारे होटलमा बुकिङसमेत भइसकेको थियो।

सम्मेलनमा सहभागी हुन विश्वभरबाट ७२८ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये एक सयभन्दा बढी चीनबाट र करिब डेढ सय अमेरिका लगायत विभिन्न मुलुकबाट आउने कार्यक्रम थियो।

यसअघि भारतको धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासन (सीटीए) अन्तर्गत तिब्बत नीति संस्थानका प्रतिनिधि सहभागी हुने तयारी भए पनि चिनियाँ चासोपछि सीटीएले औपचारिक प्रतिनिधि नपठाउने निर्णय गरेको थियो। त्यसको केही समयपछि नेपाल सरकारले नै सम्मेलन स्थगित गर्न निर्देशन दिएको हो।

कूटनीतिक वृत्तमा सम्मेलन स्थगित हुनुमा चीनको बढ्दो चासो र दबाब मुख्य कारण रहेको विश्लेषण गरिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत चाङ माओमिङले केही दिनअघि परराष्ट्र सचिवसँग भेट गरी सम्मेलनप्रति चासो व्यक्त गरेका थिए। यद्यपि नेपाल सरकारले सम्मेलन रोक्नुको आधिकारिक कारण भने सार्वजनिक गरेको छैन।

पछिल्ला साताहरूमा विश्वका विभिन्न मुलुकमा तिब्बती समुदायले चीनविरुद्धका गतिविधि तीव्र बनाइरहेका बेला नेपालमा हुने अन्तर्राष्ट्रिय तिब्बत सम्मेलनमा पनि संवेदनशील विषय उठ्न सक्ने आकलनका कारण सरकारले कार्यक्रम रोक्ने निर्णय गरेको हुन सक्ने अनुमान गरिएको छ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको आईएटीएस सम्मेलन यसअघि एसियामा जापान (१९८९) र मंगोलिया (२०१३) मा आयोजना भइसकेको थियो। अहिले नेपालमा सम्मेलन स्थगित भएपछि यसको आगामी आयोजना सम्बन्धी निर्णय आईएटीएस बोर्डले गर्ने जनाइएको छ।