Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएको निर्णय कानुनी रूपमा वैधानिक रहेको र अदालतबाट पुनः पुष्टि हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सर्वोच्च अदालतको आदेशपछि स्वाभाविक रूपमा विभिन्न प्रश्न उठे पनि कांग्रेस अदालतको प्रक्रियाप्रति पूर्ण सम्मानका साथ अघि बढ्ने स्पष्ट पारे।
‘हिजो सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता विवादमा एउटा आदेश आएको छ। त्यसबाट स्वाभाविक रूपमा केही प्रश्न उठेका छन्। हाम्रो स्पष्ट धारणा के हो भने हामी उक्त निर्णयलाई सम्मान गर्छौं,’ उनले भने।
थापाले नेपाली कांग्रेसको विधानअनुसार सार्वभौम महाधिवेशन प्रतिनिधिहरूको बहुमत उपस्थितिमा विशेष महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै त्यसको वैधानिकता निर्वाचन आयोगले स्वीकार गरिसकेको बताए। सर्वोच्च अदालतले पनि उक्त निर्णयलाई यसअघि सदर गरिसकेको स्मरण गराउँदै उनले अब पुनः समीक्षा वा थप पुष्ट्याइँ आवश्यक ठहरिएको भए त्यसलाई पनि सकारात्मक रूपमा लिने धारणा राखे।
‘विशेष महाधिवेशनको वैधानिक मान्यता निर्वाचन आयोगले दिइसकेको छ। त्यसलाई सर्वोच्च अदालतले पनि स्वीकार गरिसकेको छ। अब फेरि पुष्ट्याइँ गर्नुपर्ने भनेको छ भने त्यसलाई पनि हामी सम्मान गर्छौं,’ थापाले भने।
उनले आफू पार्टी नेतृत्वमा रहँदा संगठनलाई एकताबद्ध बनाउने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी हुन नसकेका नेता तथा कार्यकर्तालाई पनि आगामी १५औँ महाधिवेशनसम्म पार्टीको मूलधारमा समेट्ने प्रयास भइरहेको उनले जानकारी दिए।
सभापति थापाले कांग्रेसभित्र संवाद, सहकार्य र एकताको वातावरण कायम गर्दै पार्टीलाई थप सुदृढ बनाउने दिशामा नेतृत्व प्रतिबद्ध रहेको पनि बताए।
२०८३ श्रावण २३
ताजा नेपाल
२०८३ श्रावण २३
ताजा नेपाल
२०८३ श्रावण २३
ताजा नेपाल