Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस इतर समूहको भेलामा देउवा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर समूहले आयोजना गर्न लागेको भेलामा सहभागी हुने भएका छन्। उपचारका क्रममा हङकङमा रहेका देउवा साउन २६ गते नेपाल फर्किएपछि २९ गतेदेखि हुने भेलामा सहभागी हुने कार्यक्रम रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

नेता महतका अनुसार साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने भेलाको तयारी तीव्र रूपमा भइरहेको छ। भेलाका लागि आवश्यक प्रतिवेदन तयार पार्ने काम भइरहेको बताउँदै उनले देउवाको उपस्थितिले छलफललाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

‘२९ गतेको भेलामा पूर्वसभापति देउवा दाइ पनि आइपुग्नुहुन्छ। उहाँ २६ गते हङकङबाट नेपाल फर्किने कार्यसूची छ,’ महतले भने, ‘भेलामा सकेसम्म धेरै साथीहरूको सहभागिता रहने अपेक्षा गरेका छौँ।’

नेपाली कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विवाद कायमै रहेका बेला संस्थापन इतर समूहले आफ्नो रणनीति तय गर्न भेला आयोजना गर्न लागेको हो। दोस्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापाको नेतृत्वलाई देउवा पक्षले स्वीकार नगरेको अवस्था छ।

उता गगन थापा नेतृत्वले नियमित १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको भए पनि संस्थापन इतर समूह अझै पूर्ण रूपमा एकजुट हुन सकेको छैन। पछिल्ला दिनहरूमा दुवै पक्षका नेताहरूबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलिरहेकाले पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको छ।

पार्टी विभाजनको सम्भावनाबारे सञ्चारकर्मीको प्रश्नमा नेता महतले कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको बताए। ‘हामी पार्टीलाई एकजुट गर्ने प्रक्रियामै छौँ। देउवा दाइ आएपछि थप छलफल हुन्छ। हाम्रो प्रयास एकताको हो, तर गगनजीहरू पर्याप्त लचिलो हुनुभएको छैन,’ उनले भने।

देउवा लामो समयदेखि उपचारका लागि हङकङमा रहेका छन्। उनी स्वदेश फर्किएपछि कांग्रेसभित्रको पछिल्लो राजनीतिक परिस्थिति र नेतृत्व विवादबारे संस्थापन इतर समूहले साझा रणनीति बनाउने अपेक्षा गरिएको छ।