Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई धरपकड गरिए कांग्रेसले कडा प्रतिवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कुनै प्रकारको धरपकड गरिए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै उनले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवा पनि सहभागी हुने बताए।

उपचारका लागि हङकङमा रहेका देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै उनलाई सरकारले पक्राउ गर्न सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा कोइरालाले त्यस्तो सम्भावना नरहेको बताए।

‘यदि कुनै प्रकारको धरपकड गरियो भने नेपाली कांग्रेसले त्यसको कडा प्रतिवाद गर्नेछ,’ उनले भने।

डा. कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको निर्णयलाई स्वागतयोग्य भएको बताए। पूर्वसभापति देउवाको तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले साउन २१ गते पुनरावलोकनको अनुमति दिएको उल्लेख गर्दै उनले अन्तिम फैसला पनि कांग्रेसको पक्षमा आउने विश्वास व्यक्त गरे।

‘हामी अदालतको निर्णयलाई सम्मान गर्छौँ। आगामी न्यायिक निरूपणबाट पनि पार्टीले न्याय पाउनेमा विश्वस्त छौँ,’ उनले भने।

उनका अनुसार सर्वोच्च अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन ल्याएको छैन, बरु पार्टीपंक्तिमा थप उत्साह र आत्मविश्वास पैदा गरेको छ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउने दिशामा यो भेला कोशेढुङ्गा सावित हुनेछ,’ उनले भने, ‘पहिले १० देखि २० हजार जनाको सहभागिता हुने अनुमान गरेका थियौँ। सर्वोच्चको निर्णयपछि कार्यकर्तामा सकारात्मक सन्देश गएको छ र अब सहभागिता अझ उल्लेख्य हुने देखिएको छ।’

पत्रकार सम्मेलनमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको अनुपस्थितिबारे उठेको प्रश्नमा उनले दुवै नेताले अभियानप्रति पूर्ण समर्थन रहेको स्पष्ट पारे।

‘पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै कार्यक्रममा व्यस्त हुनुहुन्छ। उहाँहरू उपस्थित हुन नसके पनि यो अभियानप्रति उहाँहरूको पूर्ण समर्थन र ऐक्यबद्धता छ,’ उनले भने।

 

सुरक्षा निकायको पनि चासो

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि यही साउन २६ गते स्वदेश फर्किने तयारीमा रहेका छन्। देउवानिकट नेताहरूका अनुसार उनी साउन २६ गते साँझ काठमाडौं आइपुग्ने कार्यतालिका तय गरिएको छ।

गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा त्यसयता उपचारका लागि विदेशमा रहेका छन्। हाल उनी हङकङमा उपचाररत छन्।

देउवाको स्वदेश फिर्तासँगै नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। उनी साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा समेत सहभागी हुने तयारीमा रहेको नेताहरूले बताएका छन्।

उता, देउवाको स्वदेश फिर्तालाई लिएर नेपाल प्रहरीले पनि आवश्यक सुरक्षा तथा व्यवस्थापनका विषयमा अध्ययन गरिरहेको स्रोतहरूले बताएका छन्।