Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५५ हजार टन ग्यास आयात हुने

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव विस्तारै कम हुँदै गएको नेपाल आयल निगमले जनाएको छ।

गत असार ३१ गतेदेखि १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर बिक्री वितरण सुरु गरेपछि बजारमा एकाएक माग बढ्दा सुरुवाती दिनमा अभाव देखिए पनि पछिल्लो समय भारतबाट ग्यास आयात बढाइएको र वितरण प्रणालीलाई चुस्त बनाइएपछि अवस्था सहज हुँदै गएको निगमको भनाइ छ।

निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले मागअनुसार ग्यास उपलब्ध गराउन आयात बढाइएको बताए। उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)को रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोड भएर नेपाल आइरहेको छ।

‘७.१ किलोबाट १४.२ किलोमा सिफ्ट हुँदा केही समस्या देखिएको हो। बढीमा एक साताभित्र ग्यासको बिक्री वितरण सामान्य हुन्छ,’ उपाध्यायले भने।

उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गर्दै आपूर्ति नियमित रूपमा भइरहेको जानकारी दिए।

पश्चिम एसियाको परिस्थितिलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि ७.१ किलोग्राम ग्यास भएको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो।

आधा सिलिन्डरको बिक्रीले तत्कालीन अभाव व्यवस्थापन गर्न सहयोग गरे पनि उपभोक्ताले पूर्ण सिलिन्डर नै बढी रुचाएको निगमको अनुभव छ। आधा सिलिन्डरको विकल्प हटाएर पूर्ण सिलिन्डर बिक्री गर्न थालेपछि बजारमा माग एकैपटक बढ्दा अहिले केही असन्तुलन देखिएको व्यवसायीहरूको भनाइ छ।

नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ। तर फागुन २९ देखि असार ३१ सम्मको चार महिनामा अघिल्लो नियमित अवस्थाको तुलनामा करिब ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमले जनाएको छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो समय आयात निरन्तर बढिरहेकाले बजारमा आपूर्ति सहज हुँदै गएको बताए। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र अत्यावश्यक पर्ने वर्गलाई प्राथमिकता दिन आग्रह गरे।

निगमका अनुसार पछिल्लो समय एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो।

चालु आर्थिक वर्षको साउनका पहिलो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ। हालको आयात दर कायम रहे साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ।

नजिकिँदै गरेका ठूला चाडपर्वमा ग्यास अभाव हुन नदिन सरकारले तीन महिनाका लागि आयात कोटा बढाउन भारतसँग समेत कूटनीतिक पहल गरिरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रतिनिधिसभामा ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएकी छन्।

नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा करिब १० हजार १६६ मेट्रिक टन भण्डारण क्षमता रहेको छ।

ग्यासको बिक्री वितरण सहज बनाउन उद्योगमन्त्री यादवसहित निगमका उच्च अधिकारीहरूले उद्योग तथा डिलरहरूको अनुगमन तीव्र बनाएका छन्।

शनिबार मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको निरीक्षण गरी बोटलिङ तथा वितरण प्रणालीबारे जानकारी लिइन्। त्यसपछि टोलीले टेकुस्थित निगम परिसरमा रहेका विभिन्न ग्यास बिक्री केन्द्रको समेत अनुगमन गरेको थियो।

निगमका अनुसार अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कृत्रिम अभाव वा कालोबजारी भएको प्रमाण फेला परेको छैन।

ग्यास आपूर्तिसम्बन्धी उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न निगममा गठन गरिएको **‘क्विक रेस्पोन्स टिम’**ले हालसम्म ५०० भन्दा बढी गुनासा सम्बोधन गरिसकेको छ।

वाणिज्य मन्त्रालय, निगम तथा निजी क्षेत्रका प्रतिनिधि सम्मिलित टोलीले उपभोक्ताको गुनासाका आधारमा सम्बन्धित बिक्री केन्द्रसँग समन्वय गरी ग्यास उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ।

सरकार र निगमले आयात बढाउँदै वितरण प्रणालीलाई थप व्यवस्थित बनाइरहेकाले आगामी केही दिनमा ग्यासको आपूर्ति अझ सहज हुने अपेक्षा गरिएको छ।