Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।
लामिछानेले आगामी भदौ ७ देखि १४ गतेसम्म अर्थात् अगस्ट २३ देखि ३० सम्म आठदिने चीन भ्रमण गर्ने तयारी भएको उनी निकट एक नेताले जानकारी दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी पहिलोपटक उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका हुन्।
रास्वपाले सरकारको नेतृत्व सम्हालेपछि लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको पाँचदिने भ्रमण गरेका थिए। भारत भ्रमणपछि चीनको भ्रमण तय हुनुलाई उनको अन्तर्राष्ट्रिय राजनीतिक सक्रियताका रूपमा हेरिएको छ।
लामिछानेको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट हुने सम्भावना भने न्यून देखिएको छ।
लामिछानेको प्रारम्भिक भ्रमण तालिकामा सीसँग भेटवार्ताको कार्यक्रम नरहेको बताइएको छ। चीनको प्रोटोकलअनुसार राष्ट्रपति वा सरकार प्रमुखस्तरका विदेशी नेतासँग मात्रै सीले भेटवार्ता गर्ने भएकाले लामिछानेसँग भेट हुने सम्भावना नरहेको भ्रमणबारे जानकार एक अधिकारीले बताएका छन्।
तर, बेइजिङमा लामिछानेले चिनियाँ उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम लगभग तय भएको बताइएको छ।
उनको चीन भ्रमणको पहिलो औपचारिक भेट चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ। लिउकै निमन्त्रणामा लामिछाने चीन जान लागेका हुन्।
लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौड्यालसमेत रहने बताइएको छ।
बेइजिङ भ्रमणपछि लामिछाने नेतृत्वको टोली तिब्बत हुँदै कैलाश मानसरोवरसम्म पुग्ने कार्यक्रमसमेत तय भएको बताइएको छ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग राजनीतिक सम्बन्ध, नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
लामिछानेले गत जेठ १९ देखि २३ गतेसम्म भारतको भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।
त्यसैगरी उनले भाजपा अध्यक्ष नितिन नवीनलगायत भारतीय राजनीतिक नेतृत्वसँग पनि छलफल गरेका थिए।
भारत भ्रमणपछि चीनको भ्रमण गर्न लागेका लामिछानेका लागि यो भ्रमण छिमेकी मुलुकसँग राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्ने अर्को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
File Photo
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल