Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवाद, सहमति र सहकार्यबाट कांग्रेसको विवाद समाधान गर्नुपर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको असहमतिलाई बृहत्तर एकतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिचिएको आरोप लगाउँदै उनले उक्त विषय सर्वोच्च अदालतमा पुनरावलोकनको क्रममा रहेकाले आफूले थप टिप्पणी नगर्ने बताए। अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

देउवाले कांग्रेसभित्र भावनात्मक एकता र मेलमिलाप आवश्यक रहेको बताए। पार्टीभित्रको विवादले राष्ट्रियता र लोकतन्त्र कमजोर हुन सक्ने भन्दै उनले सबैको न्याय र भावनाको सम्मान हुने गरी समाधान खोज्नुपर्ने धारणा राखे।

‘पार्टीभित्र अहिले देखिएको असहमतिलाई सबै साथीहरूको न्याय हुने र सबैको भावनाको कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ। कोही पनि व्यक्तिकेन्द्रित हुनुहुँदैन। कांग्रेसको हितलाई नै एकताको आधार बनाउनुपर्छ,’ देउवाले भने।

उनले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरे।

कांग्रेसको राजनीतिक योगदानप्रति गर्व

देउवाले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्दै पार्टीको इतिहासलाई कमजोर बनाउने भाष्यविरुद्ध राजनीतिक बहस आवश्यक रहेको बताए।

उनका अनुसार २००७ सालमा राणा शासनको अन्त्य, २०४६ सालको प्रजातन्त्र पुनःस्थापना, २०६२/६३ को जनआन्दोलन तथा २०७२ सालमा संविधान जारी गर्ने प्रक्रियामा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो।

‘अहिलेसम्म जे–जति राजनीतिक परिवर्तन भएका छन्, त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। त्यसमा मलाई गर्व छ,’ उनले भने।

महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न कांग्रेसको भूमिका आवश्यक

देउवाले मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्र सुदृढ बनाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो। मुलुक राजनीतिक, आर्थिक–सामाजिक तथा धार्मिक–सांस्कृतिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै उनले संविधानले निर्धारण गरेको प्रक्रिया र व्यवस्थाअनुसार राष्ट्रिय सहमतिमार्फत समाधान खोज्नुपर्ने बताए।

राष्ट्रिय तथा लोकतान्त्रिक शक्तिबीच व्यापक संवाद गर्दै सहमतिका साथ अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए। संकटका बेला संवाद, सहमति र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्नेमा पनि देउवाले जोड दिए।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनका मूल आदर्श रहेको उल्लेख गर्दै उनले ती मूल्यप्रति जीवनको अन्तिम क्षणसम्म प्रतिबद्ध रहने बताए।

कांग्रेसभित्र विश्वासको वातावरण बनाउनुपर्ने

देउवाले राष्ट्रिय भेलाले पार्टीभित्र विश्वासको वातावरण निर्माण गर्दै संवाद र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

कांग्रेस पुनः एकताबद्ध भएर लोकतान्त्रिक पद्धतिको रक्षा गर्दै मुलुकको समृद्धिको यात्राको नेतृत्व गर्न सफल होस् भन्ने उनले शुभकामना दिए।

विदेशमा उपचारपछि बिहीबार मात्रै स्वदेश फर्किएका देउवाले आफ्नो स्वागतका लागि विमानस्थलमा उपस्थित नेता तथा कार्यकर्ताप्रति पनि भेलामार्फत आभार व्यक्त गरे।


सम्बन्धित समाचार