Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतले श्रेष्ठविरुद्ध परेको जाहेरीसहित अनुसन्धानको फाइल तथा उनको घर र कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत इजलासमा पेस गर्न आदेश दिएको थियो।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको हो।

गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सरस्वतीका अनुसार प्रहरीले श्रेष्ठ पक्राउ परेको दिन उनको घर तथा जनआस्था साप्ताहिकको कार्यालयबाट कम्प्युटरसहित विभिन्न विद्युतीय उपकरण बरामद गरेको थियो। त्यसको भोलिपल्ट प्रहरीले पुनः घरमा खानतलासी गरी सीसीटीभी क्यामराको डिभाइस तथा स्टोरेजसमेत लगेको उनले बताएकी छन्।

आजको सुनुवाइमा सर्वोच्च अदालतले श्रेष्ठको हिरासत कानुनी आधारमा रहे–नरहेको तथा निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा सुनुवाइ गर्नेछ।