Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैठकमा आशिका रन्किनुकाे यस्ताे छ कारणा

काठमाडौं । काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनसँग जोडिएको बञ्चरेडाँडा समस्याबारे छलफल गर्न आयोजित बैठकमा सांसद र स्थानीय तहका प्रमुखबीच चर्काचर्की भएको छ।

शुक्रबार सहरी विकास मन्त्रालयमा उपत्यकाका स्थानीय तहका प्रमुख, प्रभावित क्षेत्रका प्रतिनिधि तथा स्थानीयवासीसहित आयोजित छलफलमा धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङ र केही मेयरबीच भनाभन भएको हो। विवाद चर्किएपछि सांसद तामाङ झोला बोकेर बैठकबाट बाहिरिएकी थिइन्।

तामाङका अनुसार बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण स्थानीयवासीको स्वास्थ्य र जनजीवन गम्भीर समस्यामा परेको विषयमा छलफल गर्न मन्त्रालयसँग समन्वय गरेर बैठक बोलाइएको थियो।

उनले स्थानीय क्षेत्रमा फोहोरको दुर्गन्ध, झिँगाको प्रकोपलगायत समस्या रहेको बताउँदै बैठकलाई निष्कर्षमा पुर्‍याएर मात्रै उठ्नुपर्ने धारणा राखेकी थिइन्।

‘बञ्चरेडाँडाका स्थानीयहरूको स्वास्थ्य अवस्था गम्भीर छ। यसमा समय दिएर कुराकानी गरौँ। म पनि आज महत्वपूर्ण कार्यक्रम छोडेर आएको हुँ,’ उनले बैठकमा भनेको बताइन्।

तर, छलफल सुरु भएपछि केही मेयरहरू आफ्ना धारणा राखेर बैठकबाट बाहिरिन थालेपछि आफूले त्यसको विरोध गरेको तामाङको भनाइ छ। त्यस क्रममा मेयरहरूसँग भनाभन भएको उनले बताइन्।

‘मेरो स्वर नै चर्को सुनिन्छ’

तामाङले आफू सामान्य रूपमा बोल्दा पनि स्वर चर्को सुनिने भएकाले विवाद थप चर्किएको जस्तो देखिएको दाबी गरेकी छन्।

‘मेरो स्वर नै यस्तो छ। सामान्य बोल्दा पनि चर्किएको जस्तो देखिन्छ। त्यही विषयलाई लिएर चर्काचर्की भयो,’ उनले भनिन्।

उनका अनुसार २०७९ सालमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग भएका विभिन्न सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्।

फोहोरको स्रोतमा वर्गीकरण नगर्ने, लिचेटलाई आवश्यक प्रशोधन तथा फिल्टर नगरी खोलामा मिसाउने र प्रभावित क्षेत्रका सडक तथा अन्य पूर्वाधार निर्माणमा बेवास्ता गर्ने प्रवृत्तिले बञ्चरेडाँडा आसपासका बासिन्दाको जनजीवन प्रभावित भएको उनको आरोप छ।

तामाङले आफू प्रभावित जनताको आवाज उठाउन सधैँ तयार रहेको भन्दै कसैको दबाब वा हेपाइ नसहने बताइन्।

मेयर महर्जनको आरोप– ‘प्रस्तुति आक्रामक थियो’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने बैठकमा सांसद तामाङले बीचमै हस्तक्षेप गरेपछि विवाद सिर्जना भएको बताएका छन्।

काठमाडौं उपत्यका मेयर फोरमको अध्यक्षको हैसियतमा आफू बैठकमा सहभागी भएको बताउँदै महर्जनले ८–९ जना स्थानीय तहका प्रमुख उपस्थित रहेको जानकारी दिए।

उनका अनुसार आफूले बोलिरहेका बेला सांसद तामाङले बीचमा बोलेपछि अन्य मेयरहरूले त्यसको विरोध गरेका थिए। त्यसपछि भनाभन भएपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन्।

‘उहाँसँग भेट पनि भएको थिएन। आज पहिलो पटक कार्यक्रममा प्रत्यक्ष रूपमा देखिएको थियो। तर प्रस्तुति एकदम आक्रामक स्वभावको लाग्यो,’ महर्जनले भने।

उनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन समस्या छिटो समाधान होस् भन्ने आफूहरूको पनि चाहना रहेको बताए।

तर, बैठकको वातावरण बिग्रिएपछि कुनै निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ।

बञ्चरेडाँडाको फोहोर व्यवस्थापनलाई लिएर संघीय सरकार, काठमाडौं उपत्यकाका स्थानीय तह र प्रभावित क्षेत्रका बासिन्दाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो घटनाले पनि फोहोर व्यवस्थापनको प्राविधिक समस्यासँगै संघ, स्थानीय तह र प्रभावित क्षेत्रबीचको समन्वय अभाव अझै कायम रहेको देखाएको छ।