Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा ५० प्रतिशत भन्सार कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा सोही दरमा जवाफी कर लगाउने घोषणा गरेको छ।
क्यानडाका प्रधानमन्त्री Mark Carneyले शनिबार अमेरिकाबाट आयात हुने स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय तथा घरेलु उपकरण, कृषि सामग्री, पल्प तथा कागजलगायतका वस्तुमा सेप्टेम्बर ८ देखि नयाँ कर लागू गर्ने घोषणा गरेका हुन्।
कार्नीले अमेरिकी करको जवाफ ‘डॉलर फर डलर’ अर्थात् बराबर दरमा दिने बताएका छन्। क्यानडाली कामदार, किसान, परिवार र व्यवसायको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ।
अमेरिका र क्यानडाबीच केही दिनदेखि जारी व्यापार वार्ता शुक्रबार रातिसम्म पनि सम्झौतामा पुग्न नसकेपछि ट्रम्प प्रशासनले क्यानडामाथि ५० प्रतिशत कर लागू गरेको थियो। रोयटर्सका अनुसार अमेरिकी सरकारले करिब २० अर्ब डलर मूल्य बराबरका क्यानडाली सामानमा नयाँ कर लागू गरिसकेको छ।
अमेरिकी कदमपछि कार्नीले अमेरिकासँगको व्यापार वार्ता पनि स्थगित गरेका छन्। उनले क्यानडाका वार्ताकारलाई ओटावा फर्कन निर्देशन दिएका छन्।
कार्नीका अनुसार अन्तिम समयमा अमेरिकाले प्रस्तावित सर्तमा गरेको परिवर्तन क्यानडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अव्यावहारिक थियो। विशेषगरी क्यानडाको भविष्यमा अन्य देशसँग व्यापार सम्झौता गर्न सक्ने क्षमतामाथि समेत अंकुश लगाउने खालका सर्त स्वीकार गर्न नसकिने उनले बताएका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने क्यानडाले यसै साता सहमति भएका सर्तअनुसार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गरेको आरोप लगाएका छन्।
अमेरिकी नयाँ करको दायरामा वाइन, फर्निचर, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा, माछा मार्ने सामग्री र हक्की उपकरण लगायतका वस्तु परेका छन्।
जवाफमा क्यानडाले पनि अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा कागज र इलेक्ट्रोनिक्स लगायतका उत्पादनमा कर लगाउनेछ। जवाफी करको विस्तृत सूची पछि सार्वजनिक गरिने क्यानडा सरकारले जनाएको छ।
सम्भावित सम्झौतामा स्टिल, आल्मुनियम र अटोमोबाइलमा लाग्ने कर घटाउने तथा अमेरिकी मदिरालाई क्यानडाका सरकारी मदिरा पसलमा पुनः बिक्री गर्न दिने विषयमा सहमतिको सम्भावना रहेको भए पनि अन्तिम चरणमा वार्ता भाँडिएको थियो।
नयाँ विवादले अमेरिका, क्यानडा र मेक्सिकोबीचको यूएस–मेक्सिको–क्यानडा सम्झौता (USMCA) नवीकरणसम्बन्धी वार्तालाई समेत थप जटिल बनाउने देखिएको छ।
ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेयता अमेरिका–क्यानडा सम्बन्धमा लगातार तनाव देखिँदै आएको छ। ट्रम्पले यसअघि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बन्नुपर्ने धारणा सार्वजनिक गर्दै क्यानडाली नेतृत्वसँग सम्बन्ध थप तनावपूर्ण बनाएका थिए।
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल