Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।

उनीहरूले वारेसमार्फत् सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिकाअनुसार हालै केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु हुने गरी अधिवेशन तालिका पनि सार्वजनिक गरेको थियो।

सोही महाधिवेशन कार्यतालिकाविरुद्ध देउवा र खड्का वारेसमार्फत् सर्वोच्च पुगेका हुन्।

विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि पनि देउवा र खड्काले रिट दिएका थिए। उक्त विषयमा सर्वोच्चले पुनरवलोकनका लागि अनुमति दिइसकेको अवस्थामा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको तर्क छ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट आएको जानकारी दिएका छन्।

उनले भने, ‘कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट आएको छ, हामी अध्ययनकै क्रममा छौं।’

देउवा र खड्काले केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गर्न माग गरेका छन्।

यसअघि भदौ ५ गते पनि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। तर रिट निवेदनमा केही विषय सच्याउनुपर्ने भएपछि उक्त रिट फिर्ता लिइएको थियो ।