Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरा बसपार्क क्षेत्रका ५६७ परिवारको अन्तिम विवरण टुंगियो

पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ।

महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गरिरहेका परिवारको व्यवस्थापनका लागि निवेदन आह्वान गरेपछि प्राप्त दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनका आधारमा अन्तिम सूची तयार गरिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अन्तिम विवरणमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन्।

अन्तिम सूचीअनुसार भूमिहीनतर्फ १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी रहेका छन्। प्रारम्भिक विवरणमा भने भूमिहीन दलिततर्फ २००, भूमिहीन सुकुमबासीतर्फ २४८ र अव्यवस्थित बसोबासीतर्फ ११६ निवेदन परेको थियो।

दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि वडा तहबाट आवश्यक छानबिन तथा परीक्षण गरेपछि अन्तिम सूचीमा परिवर्तन गरिएको महानगरले जनाएको छ।

वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको थियो। वडा समितिले प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।

महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको पहिचान गरी कानुनअनुसार व्यवस्थापन गर्ने प्रक्रिया निर्णायक चरणमा पुगेको बताए।

उनका अनुसार अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी जिल्ला समितिमा सिफारिस पठाउनेछ। प्रक्रिया समयमै अघि बढे अर्को सातादेखि बसपार्क क्षेत्रको बस्ती व्यवस्थापन तथा स्थानान्तरणको काम सुरु गर्ने तयारी महानगरको छ।

‘वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ। कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यले छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौं,’ आचार्यले भने।

व्यवस्थापनपछि मात्र बसपार्क खाली गर्न माग

बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासी परिवारले भने निष्पक्ष छानबिनका आधारमा वास्तविक भूमिहीनको व्यवस्थापन गरेर मात्र बस्ती हटाउनुपर्ने माग गरेका छन्।

भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकास निर्माणमा आफूहरू बाधक नबन्ने स्पष्ट पार्दै वैकल्पिक व्यवस्थापनपछि बसपार्क क्षेत्र खाली गर्न सहयोग गर्ने बताए।

‘हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन। धेरै कारण छन्। हामी बसपार्क बनाउन महानगरलाई सहयोग गर्न तयार छौं। तर हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,’ गुरुङले भने।

पाँच दशकदेखि अधुरो बसपार्क योजना

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। तर योजना बनेको करिब पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन।

बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रका सडक तथा फुटपाथबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन्।

बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुमबासीसहित अन्य व्यक्तिको बसोबास तथा अतिक्रमण भएपछि निर्माण प्रक्रिया प्रभावित भएको महानगरको भनाइ छ। पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रका व्यापारिक सटरसमेत हटाएको छ।

महानगरले बसपार्कको जग्गा खाली गरी दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि सारेको छ। अब भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया पूरा भएपछि लामो समयदेखि अलपत्र बसपार्क निर्माण योजनाले गति लिने अपेक्षा गरिएको छ।