Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरूले पार्टीभित्रको विवादलाई लिएर सर्वोच्च अदालतमा ‘सेटिङ’ गरिएको भन्दै संस्थापन पक्षबाट भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्धारित महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। देउवा पक्षबाट पुनः सर्वोच्चमा निवेदन दर्ता भएपछि केही नेताहरूले अदालतसँग ‘सेटिङ’ गरिएको आरोप लगाउँदै आएका छन्।
कांग्रेस केन्द्रीय सदस्य कुसुम थापाले अदालतका कर्मचारीदेखि न्यायाधीशसम्मलाई प्रभावमा पार्न खोजिएको आशयका अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएकी छन्।
देउवाको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका कांग्रेस नेता दीपक खड्काले भने उक्त आरोपको कडा खण्डन गरेका छन्। उनले कांग्रेसको आन्तरिक विवादमा अन्याय भएको महसुस भएपछि न्यायको खोजीमा सर्वोच्च अदालतको ढोका ढकढक्याएको बताएका छन्।
खड्काले सर्वोच्च अदालतमा रिट दायर गर्दा उल्टै अदालतको स्वतन्त्रता र गरिमामाथि प्रश्न उठाउने गरी आफ्नो नामसमेत जोडेर ‘सेटिङ’को प्रचार गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
उनले आफूले न्याय र स्वतन्त्रताको पक्षमा अदालतको शरण लिएको उल्लेख गर्दै सर्वोच्च अदालतप्रति पूर्ण विश्वास र भरोसा रहेको बताएका छन्। अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको उनको भनाइ छ।
खड्काले अदालतको गरिमा घटाउने उद्देश्यले नियोजित रूपमा कुप्रचार भइरहेको दाबी गर्दै यस्तो गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।
यसैबीच कांग्रेसका अर्का नेता केदार कार्कीले पनि अदालतमा आक्रामक ढंगले राजनीतिक दबाब सिर्जना गर्ने प्रयास दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
कार्कीले केही व्यक्तिले अराजक अभिव्यक्ति र सञ्चारमाध्यममार्फत ‘मिडिया ट्रायल’ गराउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसकै आधारमा अदालतलाई प्रभावित पार्ने वातावरण बनाउन खोजिएको बताएका छन्।
उनले न्यायालयलाई राजनीतिक विवादबाट अलग राख्नुपर्ने धारणा राख्दै संस्थापन पक्षका नेताहरूलाई लक्षित गरी अदालतलाई राजनीतिक दबाबको विषय नबनाउन आग्रह गरेका छन्।
कांग्रेसभित्रको आधिकारिकता र महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला दुवै पक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। अदालतको निर्णयले कांग्रेसको आगामी राजनीतिक संरचना र महाधिवेशन प्रक्रियामा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
२०८३ भाद्र १०
ताजा नेपाल
२०८३ भाद्र १०
ताजा नेपाल
२०८३ भाद्र १०
ताजा नेपाल