Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा पुनः बाढीको जोखिम देखिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी थुनिएर बनेको तालको आकार बढ्दै गएकाले ताल फुटेमा तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने चेतावनी दिएको हो।
महाशाखाका अनुसार हाल भोटेकोशी र त्रिशूली नदीको जलसतह सामान्य अवस्थामा रहे पनि माथिल्लो क्षेत्रमा बनेको ताल फुट्ने सम्भावना रहेकाले नदी किनारमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढिरहेको देखिएको छ।
उनका अनुसार ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो तथा गेग्रानसमेत बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्छ।
‘नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ। ताल फुटेमा फेरि पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ,’ पराजुलीले भने।
भोटेकोशीमा यसअघि आएको बाढीपछि हाल नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। बाढीको खतरा बढेमा महाशाखाले तत्काल पूर्वसूचना जारी गर्ने जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
२०८३ भाद्र १३
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल