Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढी : मृतकको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

२ हजार ४९८ अझै सम्पर्कविहीन

बाढी तथा पहिरोपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना छन्। तीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना रहेका छन्।

यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार तथा कर्मचारीसमेत सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कतिपय आयोजनाका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक पनि रहेका छन्। उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगीसमेत सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना अझै बेपत्ता छन्।

उद्धारमा करिब २० हजार सुरक्षाकर्मी परिचालित

विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पार्न देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बाढीले मुख्य सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना तथा सञ्चार प्रणालीमा समेत ठूलो क्षति पुर्‍याएकाले अझै पनि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। सम्पर्कविहीनको संख्या र क्षतिको वास्तविक विवरण थप खोज तथा उद्धारपछि मात्र यकिन हुने देखिएको छ।