Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ। अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार बाढी तथा विपद्बाट सबैभन्दा ठूलो मानवीय क्षति चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा भएको देखिएको छ।

प्राधिकरणका अनुसार हालसम्म रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका छन्।

४ हजारभन्दा बढी सम्पर्कविहीन

अझै सम्पर्कविहीन रहेकाहरूमा विभिन्न सरकारी निकायका कर्मचारी, जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति, स्थानीय नागरिक तथा विदेशी नागरिकसमेत रहेका छन्।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

स्थानीय तह तथा जिल्लागत विवरणअनुसार रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८ र मकवानपुरका ६५ जना सम्पर्कविहीन छन्।

त्यसैगरी, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। विदेशी नागरिक ५९२ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली पनि अझै सम्पर्कविहीन छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

१० हजारभन्दा बढीको उद्धार

यसैबीच, विपद् प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बेपत्ताको खोजी, उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। प्रतिकूल मौसम, भौगोलिक कठिनाइ तथा कतिपय क्षेत्रमा सञ्चार र सडक सम्पर्क विच्छेद भएका कारण खोज तथा उद्धार कार्यमा चुनौती देखिएको छ।

सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित सम्बन्धित निकायलाई परिचालन गरेको छ। साथै, प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।