Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजमार्गमा यातायात आवागमन अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा ग्यास बोकेका बुलेट काठमाडौं प्रवेश गर्न नसक्ने भएपछि राजधानीमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले वैकल्पिक व्यवस्था अघि बढाएका छन्।
अब काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेका ग्यास उद्योगहरूले राजधानी बाहिरकै उद्योगमा ग्यास भरेर सिलिन्डर काठमाडौं ल्याउने भएका छन्। नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएपछि वैकल्पिक आपूर्ति व्यवस्था सुरु गरिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका तथा छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा रहेका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।
उनका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको छ। त्यसैले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सम्भावित आपूर्ति समस्या रोक्न वैकल्पिक मार्ग र उद्योग प्रयोग गर्न थालिएको हो।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक नखुलेसम्म राजधानीबाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइने बताए।
उनका अनुसार बाहिरी जिल्लाका उद्योगमा भरिएका ग्यास सिलिन्डर त्रिभुवन राजपथलगायत वैकल्पिक सडक प्रयोग गरी काठमाडौं ल्याइनेछ। राजधानीबाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यकामा तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उनको दाबी छ।
कालाखेतीले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरेका छन्। बाहिरी उद्योगबाट ग्यास भरेर नियमित आपूर्ति गर्ने व्यवस्था मिलाइएकाले अनावश्यक रूपमा ग्यासको जगेडा नराख्न उनले सुझाव दिए।
यसैबीच, विभिन्न ग्यास उद्योगले वैकल्पिक उद्योगबाट ग्यास भर्न सुरु गरिसकेका छन्। श्री ग्यासले बाबा ग्यास, श्रीकृष्ण ग्यासले साइबाबा ग्यास, श्रीराम ग्यासले जानकी ग्यास तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका छन्। त्यस्तै एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास भर्न सुरु गरेका छन्।
अन्य उद्योगहरूले पनि राजधानीबाहिर रहेका उद्योग तथा अन्य ग्यास उद्योगसँग समन्वय गरी ग्यास भर्ने प्रक्रिया अघि बढाएको कालाखेतीले जानकारी दिए।
यसरी पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक र राजधानीबाहिरका बोटलिङ प्लान्ट प्रयोग गरेर काठमाडौं उपत्यकामा ग्यास आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन्।
२०८३ भाद्र १६
ताजा नेपाल
२०८३ भाद्र १६
ताजा नेपाल
२०८३ भाद्र १६
ताजा नेपाल