Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार महाधिवेशनको प्रस्तावित कार्यतालिकासमेत बैठकले अनुमोदन गरेको छ। जसअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ।
बैठकले महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालालाई आवश्यक परामर्श गरी केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने जिम्मेवारी दिएको छ।
त्यस्तै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठनको जिम्मेवारी पनि कोइरालालाई दिइएको छ।
महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत बैठकले गरेको छ। सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूको सिफारिसमा सचिवालयले प्रतिनिधि पठाउने कुइँकेलले बताए।
केन्द्रीय प्रतिनिधिहरूले जिल्लामा पुगेर भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गर्ने कार्यतालिका तय गरिएको छ।
विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशनका लागि आवश्यक तयारी समिति पनि परामर्शका आधारमा सचिवालयले गठन गर्ने जनाइएको छ।
संस्थापन पक्षले सहमतिको पहल नगरेपछि आफूहरूले महाधिवेशनको प्रक्रिया अघि बढाउनुपरेको नेता डा. प्रकाशशरण महतले बताए।
उनले संस्थापन पक्ष एकलौटी रूपमा अघि बढेको आरोप लगाउँदै महाधिवेशनको कार्यतालिका रोक्न नमानेपछि आफूहरू चुप लागेर बस्न नसक्ने बताए।
बैठकले प्रदेश तथा स्थानीय तहको आगामी निर्वाचनका लागि सम्बन्धित तहबाट उम्मेदवारको नाम संकलन र उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएको छ।
देउवा समूहको अर्को बैठक भदौ २६ गते बस्ने भएको छ।
२०८३ भाद्र २०
ताजा नेपाल
२०८३ भाद्र २०
ताजा नेपाल
२०८३ भाद्र २०
ताजा नेपाल