Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर राखेको छ।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर तथा एलपी ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। त्यसपछि आपूर्ति सहज बनाउन निगमले तराईका ग्यास उद्योगमा भरिएका सिलिन्डर वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं भित्र्याउन थालेको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ वटा एलपी ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याइएको छ। आपूर्ति प्रणालीलाई नियमित राख्न सार्वजनिक बिदाका दिनसमेत ग्यास रिफिलिङ तथा ढुवानी नरोक्न उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ।
यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो क्षति भएपछि जारी खोज तथा उद्धार कार्यका लागि समेत निगमले आवश्यक हवाई इन्धन र एलपी ग्यास उपलब्ध गराउँदै आएको छ।
उद्धार कार्यमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिसकिएको निगमले जनाएको छ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटमा स्थापना गरिएका अस्थायी सेल्टरका लागि ५ सय ७५ थान एलपी ग्यास सिलिन्डरसमेत पठाइएको निगमले जनाएको छ।
निगमले विपद्का कारण आपूर्ति प्रणालीमा उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्दै काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको नियमित आपूर्ति कायम राख्न वैकल्पिक व्यवस्थालाई निरन्तरता दिएको जनाएको छ।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल