Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहभित्र तितरबितरको संकेत देखिएको छ। पार्टी विभाजनको बाटोमा जान नहुने मत बलियो बन्दै गएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासहितका नेताहरू संस्थापन पक्षसँग संवादमा जोडिएका छन्।
देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा हुने बैठकमा सहभागी हुन छाडेका खड्का र कोइराला पछिल्लो समय पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षसँग नजिकिएका हुन्। आधिकारिकता प्राप्त नभए नयाँ पार्टी गठन गरेर अघि बढ्ने तयारीसमेत भइरहेको अवस्थामा पार्टी विभाजन रोक्नुपर्ने पक्षमा रहेका नेताहरूले सहमतिका लागि संवाद अघि बढाएका छन्।
संस्थापन पक्षका एक पदाधिकारीका अनुसार खड्का र कोइरालासँग भइरहेको संवाद सकारात्मक दिशामा अघि बढिरहेको छ। पार्टीलाई विभाजनबाट जोगाएर एकताको महाधिवेशन गर्ने उद्देश्यसहित छलफल भइरहेको उनको भनाइ छ।
‘हाम्रो चाहना सबैलाई जोड्ने नै हो। तर निरन्तर देउवा दाइको वरिपरि बसेर शक्ति आर्जन गरेकाहरू सहमतिमा आउने देखिएन। पूर्ण र शेखर दाइसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ,’ ती पदाधिकारीले भने।
उनका अनुसार खड्का र कोइरालासँगको संवाद अन्तिम चरणमा पुगेको छ। उनीहरू सहमतिमा आउने अवस्था बने महाधिवेशनको निर्धारित मितिमा असर नपर्ने गरी वडा अधिवेशनको कार्यतालिका भने केही दिन सार्ने विषयमा समेत छलफल भइरहेको छ।
‘उहाँहरू सहमतिमा आउने भएपछि महाधिवेशनको मिति अहिले तलमाथि नभए पनि वडा अधिवेशन एक साता सार्नेसम्मको तयारी छ। भोलि कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ। त्यहाँ सभापतिले अहिलेसम्म भए गरेका प्रयासबारे जानकारी गराउनुहुन्छ होला,’ ती पदाधिकारीले भने।
पार्टी विभाजनको विपक्षमा रहेका अधिकांश नेता महाधिवेशनअघि नै संस्थापन पक्षसँग जोडिन सक्ने दाबी पनि संस्थापन पक्षका नेताहरूले गरेका छन्।
देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा हुने बैठकमा जान छाडेका पूर्णबहादुर खड्का पछिल्लो समय आफूनिकट नेताहरूसँग छुट्टै छलफलमा केन्द्रित छन्। उनले आफ्नै निवासमा नेताहरूलाई बोलाएर पार्टीको आगामी रणनीतिबारे छलफल गर्दै आएका छन्।
खड्काको निवासमा भएको पछिल्लो छलफलमा सहभागी एक नेताका अनुसार अब चुनदेवी बैठकमा सहभागी नहुने र पार्टी विभाजनको बाटोमा नजाने निष्कर्ष निकालिएको छ।
‘हामी अब चुनदेवी बैठकमा जाँदैनौँ। पार्टी विभाजनमा जानु हुँदैन भन्ने हाम्रो निष्कर्ष रह्यो। अदालतले महाधिवेशन रोक्न अस्वीकार गर्यो। निस्सा दिएपछि त्यसको टुंगो लाग्न समय लाग्छ। त्यसैले अब विभाजन होइन, सहमतिमा जानुपर्छ भन्नेमा पुग्यौँ,’ ती नेताले भने।
खड्का निवासको बैठकमा सहभागी नेता रामहरि खतिवडाले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताए। पार्टीको आधिकारिक संरचना र चुनाव चिह्नलाई एकताबद्ध राखेर महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ।
‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। एकताको महाधिवेशन बनाएर जानुपर्छ भन्ने हाम्रो लाइन हो,’ खतिवडाले भने।
उनका अनुसार आफूहरू नेता शेखर कोइरालासँग पनि निरन्तर संवादमा छन्। कोइरालालाई समेत एकताको प्रक्रियामा जोड्ने प्रयास भइरहेको उनले बताए।
यसअघि नेता शेखर कोइरालाले राखेको बैठकमा सभापति गगन थापाले केन्द्रीय सदस्य मनोनीत गरेका नेतादेखि देउवा समूहका नेताहरूसमेत सहभागी भएका थिए। उक्त बैठकले पनि पार्टी विभाजनमा जान नहुने निष्कर्ष निकालेको थियो।
कोइराला निकट नेता सञ्जय गौतमले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताए। उनका अनुसार एकताको महाधिवेशन गराउने विषयमा कोइराला सक्रिय रूपमा छलफलमा छन्।
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल