Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ । बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्याएपछि चुमनुब्रीवासीको आवागमन, विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ ।
पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गमा पर्ने दुईवटा पुल बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । उनका अनुसार थेराङ खोलामा आएको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ । त्यस्तै, थेराङ खोलाको बाढीले बूढीगण्डकीको बहावसमेत बढाएपछि नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुल पनि बगेको हो ।
“बाढी–पहिरोले हामीलाई निकै जोखिममा पार्यो,” लामाले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो । अब कतै जान पनि नमिल्ने अवस्था भयो ।”
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ । हालै मात्र करिब सात करोड रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न भई परीक्षण प्रसारण सुरु गरिएको १०० किलोवाट क्षमताको जलविद्युत् आयोजना बाढीले बगाएको छ । यसैगरी, लामो समयदेखि सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको अर्को आयोजना पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको स्थानीयले बताएका छन् ।
“एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो, त्यो पनि बाढीले लग्यो,” लामाले भने, “अर्को पहिल्यैदेखि चलिरहेको २२ किलोवाटको जलविद्युत् थियो, त्यो पनि नामेट पारेर लग्यो । आवतजावत र विद्युत् ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।”
विद्युत् आयोजना क्षतिग्रस्त भएपछि नाम्रुङमा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवा प्रभावित भएका छन् । पुल बगाएपछि मनास्लु क्षेत्रमा सुरु हुँदै गरेको पर्यटक आवागमनसमेत प्रभावित भएको छ । लार्केपासतर्फ गएका सयौँ पर्यटक पुल नहुँदा बाटोमै समस्यामा परेका छन् ।
यसैबीच, पहिरोसहित आएको बाढीले राति स्थानीय चारजनाको घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले बगाएको हो ।
वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार बाढी आउँदा गाउँ नै भूकम्प आएजस्तो गरी थर्किएको थियो । स्थानीयहरू राति नै बिउँझिएर सुरक्षित स्थानतर्फ भागेका कारण मानवीय क्षति हुनबाट जोगिएको उनले बताए ।
“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाध्यक्ष लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।”
बाढीबाट घरबारविहीन भएका चार परिवारलाई तत्काल अल्पकालीन राहत उपलब्ध गराउने तयारी गरिएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार तत्काल खाद्यान्न र लत्ताकपडाका लागि प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत दिइनेछ ।
“घरको केही पनि जोगिएन, त्यसैले तत्काल आज नै खाद्यान्न र लुगाकपडाका लागि २० हजार रुपैयाँका दरले राहत दिन्छौँ,” उनले भने, “केही दिनमा गाउँपालिकाका तर्फबाट एक लाख रुपैयाँ बराबरको राहत दिनेछौँ ।”
उनले अन्य निकाय तथा संघसंस्थाबाट प्राप्त हुने राहतका लागि समेत पहल गरिने बताए ।
File Photo
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल