Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका नेताहरूले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। पार्टीका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको रकम कांग्रेसले एकमुष्ट रूपमा सरकारलाई उपलब्ध गराएको हो।
चेक हस्तान्तरण गर्न महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायतका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।
महामन्त्री पौडेलले विपद्को घडीमा बाढीपीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित आवासको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले रकम सरकारलाई हस्तान्तरण गरिएको बताए।
रकम हस्तान्तरण गर्दै पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए। उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन सरकारसँग आग्रह गरे।
बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले उद्धार कार्यलाई तत्काल तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु।’
पौडेलले राहत वितरणलाई पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरे।
बेपत्ताहरूको खोजी, विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापना तथा विपद् व्यवस्थापनका लागि सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको उनले प्रतिबद्धता जनाए।
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २२
ताजा नेपाल