Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको सम्मानजनक बहिर्गमनमा शेखरकाे जोड

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गरी पार्टी एकता कायम गर्न नेता डा. शेखर कोइराला मध्यस्थकर्ताको भूमिकामा सक्रिय हुनुभएको छ। सभापति गगन थापासँग भेटवार्ता गरेको भोलिपल्ट कोइरालाले सोमबार निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको हो।

संस्थापन इतर पक्षले अघि सारेका अधिकांश माग सम्बोधन गर्ने गरी सभापति थापाले अघि सारेको प्रस्तावबारे कोइरालाले देउवालाई जानकारी गराउनुभएको बताइएको छ। देउवा समूहलाई बाहिर राखेर सहमति खोज्ने प्रस्तावप्रति भने कोइराला सकारात्मक देखिनुभएको छैन।

सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउन छुट्टै १५ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसको नेतृत्व कोइरालालाई दिने प्रस्ताव गर्नुभएको थियो। थापाले आफ्नो पक्षबाट ८ जना सदस्य र संस्थापन इतर पक्षबाट ६ जना सदस्य राख्ने प्रस्ताव अघि सारेको बताइएको छ।

तर, कोइरालाले देउवालाई बाहिर राखेर गरिने पार्टी एकताको अर्थ नहुने धारणा राख्नुभएको छ। उहाँले देउवाको सम्मानजनक बहिर्गमन सुनिश्चित हुने गरी सहमति खोज्नुपर्ने बताउनुभएको थियो।

“शेरबहादुर देउवाबिनाको एकताको अर्थ हुँदैन। उहाँको सम्मानजनक बहिर्गमन कसरी सम्भव हुन्छ, त्यहीअनुसार सहमति खोजौँ। पार्टी एकता हुने मूल्यमा मलाई कुनै पद चाहिँदैन,” कोइरालाको भनाइ उद्धृत गर्दै नेताहरूले बताएका छन्।

कोइरालानिकट निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमले पनि देउवाको सम्मानजनक बहिर्गमन हुने गरी सहमतिको विकल्पबारे छलफल भइरहेको बताउनुभयो। उहाँका अनुसार १५औँ महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व र समापन सत्रमा सम्बोधन गराएर देउवाको सम्मानजनक बिदाइ गर्ने विकल्पबारे समेत छलफल भइरहेको छ।

यसअघि संस्थापन इतर पक्षले महाधिवेशन निष्पक्ष बनाउन छुट्टै १५ सदस्यीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावमा संस्थापन पक्ष सहमत हुन सकेको थिएन। अहिले सभापति थापाले सोही संयन्त्रको नेतृत्व शेखर कोइरालालाई दिने प्रस्तावमार्फत सहमति जुटाउने प्रयास गर्नुभएको हो।

संस्थापन इतर पक्षका नेता डा. प्रकाशशरण महतले भने देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा सहमति भए मात्रै पार्टी एकता सम्भव हुने बताउनुभयो।

“सम्मानजनक बिदाइका लागि पनि देउवाको नेतृत्वमा महाधिवेशनमा जाऔँ भन्ने हाम्रो कुरा हो। यसमा सहमति भयो भने अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सकिन्छ र पार्टी एकतामा पनि बल पुग्छ,” महतले भन्नुभयो।

यता कांग्रेस महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनको औचित्य समाप्त नहुने गरी सबै विषयमा सहमति गर्न सभापति थापा तयार रहेको बताउनुभयो। उहाँले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले अघि सारेका माग सम्बोधन गरेर पार्टी एकता कायम गर्न सकिने सन्देश दिइसकेको बताउनुभयो।

पौडेलका अनुसार शेखर कोइरालाले देउवासँग छलफल गर्ने बताउनुभएको छ र सभापति थापा पक्ष उहाँबाट आउने सन्देशको प्रतीक्षामा छ।

महाधिवेशनको कार्यतालिका फेरि संशोधन हुने

पार्टीभित्र बृहत् एकता कायम गर्न महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति भएको पनि पौडेलले बताउनुभयो। यसअघि साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो।

निर्वाचन समितिले भने वडा अधिवेशनको मिति फेरि संशोधन गरी आगामी असोज ४ गते गर्ने तयारी गरेको छ।

पार्टीको १५औँ महाधिवेशनमा सक्रिय सदस्यता नवीकरण र अद्यावधिकसम्बन्धी विवाद पनि सहमतिबाट समाधान गर्ने प्रयास भइरहेको छ। अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण भए पनि अद्यावधिक हुन नसकेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने विषयमा सहमति बनेको पौडेलले बताउनुभयो।

मुद्दा फिर्ता भए महाधिवेशन सार्न तयार

सभापति गगन थापाले देउवा समूहले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए महाधिवेशनको मिति मंसिरसम्म सार्न आफू तयार रहेको बताउनुभएको छ।

सोमबार बसेको कार्यसम्पादन समिति बैठकमा थापाले सहमतिका लागि आफूले सम्पूर्ण प्रयास गर्ने बताउनुभएको नेताहरूले जानकारी दिएका छन्।

“उहाँले मुद्दा फिर्ता लिए महाधिवेशन सार्न म तयार छु। सहमतिका लागि मैले सम्पूर्ण प्रयास गर्छु,” थापाको भनाइ थियो।

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीच लामो समयदेखि जारी विवाद समाधानका लागि पछिल्लो समय शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद बढेको छ। शेखर कोइरालाको देउवा र थापा दुवै पक्षसँगको संवादलाई पार्टीभित्रको विवाद समाधान तथा १५औँ महाधिवेशनलाई सहमतिका आधारमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।