Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस बैठकमा गगनले भने देउवालाई भेट्न ४ पटक समय माग्दा पनि पाइनँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद मिलाउनको लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको ब्रिफिङ गरेका छन्।

दुई दिन चलेको केन्द्रीय समिति बैठकमा आफूले देउवाको सचिवालयमार्फत ४ पटक भेटको समय माग्दा पनि नदिएको जानकारी गराए।

गगनको भनाइ उद्धृत गर्दै एक नेताले भने, शेरबहादुर दाइले भेटघाटको लागि समेत समय दिनुभएन। संवादमा रहन पनि नचाहनुभएको हिसाबले उहाँले पार्टी एकता नचाहेको प्रस्ट देखिन्छ। मैले चार पटक भानु देउवासँग कुरा गर्दा पनि समय पाइनँ।

सचिवालयले मात्रै नभई देउवा निकट नेताहरू पनि संवादमा आउन नचाहेको गगनले बैठकलाई जानकारी गराएको ती नेताले बताए। देउवा सभापति थापासँग संवादमा आउन नचाहनाले एकता नै नचाहेको बुझ्नुपर्ने ती नेताको पनि भनाइ छ।

सभापति थापाले पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग वार्ता सकारात्मक भएको जानकारी गराएका बताए।

ती नेताले भने, पूर्ण र शेखर दाइप्रति उहाँ आशावादी हुनुहुन्छ। संवादले बल पुर्‍याएकै कारणले उहाँहरूको मूल मागलाई नै सम्बोधन गर्ने हिसाबले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरेका हौँ। दुई जना नेताहरूसँगको वार्ताको मूल चाहनाको त्यही थियो।


सम्बन्धित समाचार