Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै थापाले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि राज्यबाट ठूलो बल प्रयोग र दमन भएको भन्दै घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनले घटनामा ज्यान गुमाएका युवाको मृत्युको कारण र त्यसको जिम्मेवारीबारे स्पष्ट जवाफ आउनुपर्ने माग गरे।
‘ती नौजवानहरू किन मारिए? के कारणले गर्दा मारिए? के यसको जिम्मेवारी कसैले लिनुपर्दैन? के सत्यतथ्य बाहिर आउनुपर्दैन? के सत्य स्थापित हुनुपर्दैन?’ थापाले प्रश्न गरेका छन्।
उनले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सन्तान गुमाएका परिवारको पीडा एक वर्षपछि पनि उस्तै रहेको उल्लेख गर्दै उनले पीडित परिवारप्रति समवेदना व्यक्त गरे।
थापाले भदौ २३ को घटनाअघि आफूले तत्कालीन प्रधानमन्त्रीलाई संसद्मै सरकारको कार्यशैलीप्रति नागरिकमा असन्तुष्टि बढिरहेको चेतावनी दिएको स्मरण गरे। सरकारसँग संख्या भए पनि नागरिकको विश्वास गुम्दै गएको र समयमै नसच्चिए ठूलो असन्तुष्टि विस्फोट हुन सक्ने आफूले त्यतिबेलै बताएको उनको भनाइ छ।
उनका अनुसार अन्ततः आफूले आशंका गरेजस्तै ठूलो असन्तुष्टि विस्फोट भयो। त्यसैले घटनाको एक वर्ष पूरा भएको अवसरमा उनले सत्य स्थापित गर्ने मागसँगै भविष्यमा नागरिकका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले भदौ २३ गते सडकमा आएका युवाहरू कुनै एउटा सरकार वा राजनीतिक दलविरुद्ध मात्र प्रदर्शनमा सहभागी नभएको बताए। भ्रष्टाचारमुक्त राज्य, जवाफदेही शासन, सुशासन र समान अवसरको माग उनीहरूको मुख्य एजेन्डा रहेको र ती माग जायज भएको उनको भनाइ छ।
युवाहरूको आक्रोशलाई समयमै बुझ्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको स्वीकार गर्दै थापाले ती माग सम्बोधन गर्ने जिम्मेवारी सबै राजनीतिक दल र समाजको भएको बताए। ‘त्यो दिन सडकमा कुनै एउटा व्यक्ति वा समूह मात्र आएको थिएन, एउटा पुस्ता नै आएको थियो,’ उनले भने।
थापाले जेन–जी पुस्ताले उठाएका मागलाई कुनै एक दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने बताए। ती मागलाई सम्बोधन गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
नेपाली कांग्रेसले पनि आफूलाई सुधार गर्दै युवाले उठाएका माग र अपेक्षाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने थापाले प्रतिबद्धता जनाए। भ्रष्टाचारमुक्त, जवाफदेही र सुशासनयुक्त राज्य तथा समान अवसर भएको समाज निर्माणका लागि युवाहरूले गरेको बलिदान खेर जान नदिने उनले बताए।
‘म र तपाईंहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो,’ थापाले भने, ‘त्यो शहादतलाई हामी खेर जान दिनेछैनौँ, यो हाम्रो संकल्प हो।’
२०८३ भाद्र २४
ताजा नेपाल
२०८३ भाद्र २४
ताजा नेपाल
२०८३ भाद्र २४
ताजा नेपाल