Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यास अभावमा उद्योगमन्त्रीको निरीहता : ‘उद्योगीहरूले गर्दा लाचार हुनुपर्‍यो’

काठमाडौं । एक महिनादेखि देशभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्ति व्यवस्थापनमा आफू निरीह र लाचार हुनुपरेको गुनासो गरेकी छन्।

बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री गौरी कुमारीले ग्यास उद्योगीहरूले नियमित आपूर्ति नगर्दा सरकारलाई समस्या परेको बताइन्।

उनले उद्योगीहरूले ग्यास वितरणमा सरकारलाई सहयोग नगरेका कारण आफू निरीह भएर बस्नुपरेको दाबी गरिन्।

‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ। ग्यास वितरणमा उद्योगीहरूले धोका दिए,’ उनले भनिन्, ‘उद्योगीहरूकै कारण सरकारलाई समस्या भयो। पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भन्ने सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्‍याइरहेका छैनन्। हामी निरीह भएका छौँ।’

मन्त्रीले उद्योगीहरूले नियमित रूपमा दैनिक तीन–तीन हजार सिलिन्डर ग्यास काठमाडौं ल्याइदिएको भए अहिलेको समस्या उत्पन्न नहुने तर्क गरिन्। आपूर्ति व्यवस्थालाई दीर्घकालीन रूपमा सहज बनाउन नेपाल आयल निगममार्फत आफ्नै ग्यास उद्योग सञ्चालन गर्ने दिशामा सरकार अघि बढ्ने पनि उनले बताइन्।

‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ। आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग आफ्नै ग्यास उद्योग भएको भए घर–घरमा ग्यास पुर्‍याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो,’ उनले भनिन्, ‘आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ।’

ग्यास अभाव समाधानका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने दबाब बढिरहेका बेला मन्त्रीले भने आफूलाई प्राप्त निर्देशनअनुसार अघि बढ्ने बताइन्। यद्यपि, त्यस्तो निर्देशन कसबाट आउने हो भन्नेबारे उनले स्पष्ट पारिनन्।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताइन्। बजारमा कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र बनाइएको उनको भनाइ छ।

मन्त्रीले चाडपर्वका समयमा उपभोक्तालाई सहुलियतमा खाद्यान्न उपलब्ध गराउने योजनासमेत सुनाइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका देशभरका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा खाद्यान्न बिक्री गरिने उनले बताइन्।

त्यस्तै, ‘नेपाल फुड्स’ ब्रान्डका खाद्यान्न बिक्रीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।

एकातिर खाना पकाउने ग्यासको अभावले उपभोक्ता समस्यामा परिरहेका छन् भने अर्कोतर्फ सरकार र ग्यास उद्योगीबीच आपूर्ति व्यवस्थापनलाई लिएर आरोप–प्रत्यारोप देखिएको छ। मन्त्रीकै अभिव्यक्तिले पनि ग्यास आपूर्ति व्यवस्थापनमा सरकारको कमजोर पकड र उद्योगीसँगको समन्वय अभावलाई उजागर गरेको छ।