Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिहरूबीच मुलुकमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा व्यावसायिक वातावरण सुधारका विषयमा करिब दुई घण्टा छलफल भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार छलफलमा निजी क्षेत्रले भोगिरहेका समस्या, स्वदेशी लगानी विस्तार तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने उपायबारे प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग चासो राखेका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले प्रधानमन्त्रीले नेपालमा लगानीका अवसर र सम्भावना के–के छन् तथा ती अवसरलाई वास्तविक परिणाममा बदल्न सरकारले कस्ता कदम चाल्नुपर्ने हो भन्ने विषयमा निजी क्षेत्रसँग सुझाव मागेको बताए।
छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले मुलुकभित्र लगानीको दायरा विस्तार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, पूर्वाधार निर्माणलाई तीव्रता दिने तथा कर तथा राजस्व संकलन बढाउने उपायबारे क्षेत्रगत सुझाव प्रस्तुत गरेका थिए।
विशेषगरी जलविद्युत्, पर्यटन तथा समग्र औद्योगिक र व्यापारिक क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गरी लगानीको वातावरण सहज बनाउन निजी क्षेत्रले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो।
निजी क्षेत्रका सुझाव सुनेपछि प्रधानमन्त्री शाहले उठाइएका विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्दै सहज रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिए।
त्यस्तै, चीनसँगको व्यापारिक कारोबारलाई थप सहज बनाउन रसुवा नाकालाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा पनि छलफल भएको छ। निजी क्षेत्रले रसुवा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरेको थियो।
ढकालका अनुसार रसुवा नाका सञ्चालनका विषयमा पनि प्रधानमन्त्री शाह सकारात्मक देखिएका छन्।
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल