Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
गत बिहीबार ओलीले बालुवाटारस्थित निवासमा भण्डारीलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेको स्रोतले जनाएको छ। जवाफमा भण्डारीले आफू पार्टी पुनर्गठनको पक्षमा रहेको स्पष्ट पारेकी थिइन्।
स्रोतका अनुसार भेटमा भण्डारीले ओलीको नेतृत्वशैलीप्रति प्रश्न उठाउँदै पार्टी सञ्चालनमा कमजोरी भएको बताएकी थिइन्। ‘तपाईंले पार्टी चलाउन सक्नुभएन । कस्तो पार्टी कस्तो भयो । अब तपाईंले सहजीकरण गर्दा नै राम्रो हुन्छ,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
फरक मत राख्ने नेताहरूलाई पार्टीभित्र टिक्न नदिएको भन्दै उनले निर्वाचनमा पार्टी पराजित हुनुका कारण र पार्टी कमजोर बन्नुको अवस्थाबारे समीक्षा गर्नसमेत ओलीलाई सुझाव दिएको बताइएको छ।
ओलीले भने तत्काल नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको र त्यसका लागि उपयुक्त पात्रसमेत नरहेको धारणा राखेको स्रोतको भनाइ छ। त्यसमा भण्डारीले व्यक्तिभन्दा पार्टी सञ्चालनको विधि महत्वपूर्ण हुने प्रतिक्रिया दिएकी थिइन्।
यसैबीच, महासचिव पोखरेलले पनि भण्डारीसँग भेट गरी ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को प्रतिवेदनबारे जानकारी गराएका थिए। उनले ओलीसँग भएको भेटबारे समेत भण्डारीसँग चासो राखेका थिए।
भण्डारीले ओलीसँगको भेटलाई अन्य ढंगले व्याख्या गर्न आवश्यक नरहेको बताउँदै आफू पार्टी पुनर्गठनकै पक्षमा रहेको स्पष्ट पारेकी थिइन्। भण्डारीनिकट एक नेताका अनुसार पार्टी पुनर्गठनको विषय विगतमा उठाइएका एजेन्डाकै निरन्तरता हो।
‘हामीले विगतमा उठाएकै एजेन्डालाई अहिले कार्यदलले समेटेको छ । यो कुनै व्यक्तिले तयार पारेको भन्दा पनि कार्यकर्ताले दिएको सुझाव हो,’ ती नेताले भने, ‘तलका कार्यकर्ताअनुसार पार्टी चल्ने हो भने पार्टी पुनर्गठनको विकल्प छैन । व्यक्तिभन्दा पनि विधिअनुसार पार्टी चल्नुपर्छ भन्नेमा हामी दृढ छौँ।’
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टी कमजोर हुनुका कारणबारे विभिन्न निष्कर्षसहित पुनर्गठनको सुझाव दिएको छ। प्रतिवेदनमा अध्यक्ष ओलीको कार्यशैलीलाई पार्टी कमजोर बन्नुको प्रमुख कारणका रूपमा औंल्याइएको दाबी गरिएको छ।
कार्यदलका संयोजक एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले उक्त प्रतिवेदन स्वीकार नगरे पनि बहुमत सदस्य त्यसको पक्षमा रहेको बताइएको छ। अध्यक्ष ओलीले प्रतिवेदन पुनर्लेखन गर्न दबाब दिएको र त्यसपछि कार्यदल संयोजक थापाले छुट्टै प्रतिवेदन तयार गरेको स्रोतको दाबी छ।
एउटै प्रतिवेदन बनाउने प्रयासस्वरूप कार्यदलको बैठक काभ्रेको पनौतीमा आवासीय रूपमा बसे पनि शनिबारदेखि सोमबारसम्म चलेको बैठकमा सहमति जुट्न सकेन। त्यसपछि सहमतिको प्रस्ताव तयार गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा, अर्का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको छ।
तीन नेताले असोज १ गते बस्ने कार्यदलको बैठकमा सहमतिको प्रस्ताव प्रस्तुत गर्ने सहमति भएको बताइएको छ।
२०८३ भाद्र ३१
ताजा नेपाल
२०८३ भाद्र ३१
ताजा नेपाल
२०८३ भाद्र ३१
ताजा नेपाल