Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा बदलिँदो समीकरण : देउवा र शेखरको साथमा कति नेता बाँकी?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी भइरहेका बेला पार्टीभित्रको शक्ति समीकरण थप बदलिएको देखिएको छ। विशेष महाधिवेशनपछि फरक कित्तामा उभिएका नेताहरू पुनः सानेपा फर्किन थालेपछि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको साथमा अहिले कति केन्द्रीय नेता छन् भन्ने विषय पार्टीभित्र चासोको विषय बनेको छ।

असोज ३ र ४ गते वडा अधिवेशन हुँदैछ। त्यसअघि केन्द्रीय कार्यसम्पादन समितिको भदौ २८ गतेको निर्णयले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएका केन्द्रीय सदस्यसरहको हैसियत दिने निर्णय गरेपछि देउवा पक्षमा रहेका कतिपय नेताहरू सानेपा फर्किएका हुन्।

१४औँ महाधिवेशनमा बलियो देउवा, अहिले समीकरण फरक

२०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित हुँदा केन्द्रीय कार्यसमितिमा उनको प्रभाव बलियो थियो। त्यसबेला अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य उनको पक्षमा थिए।

तर पछिल्लो राजनीतिक घटनाक्रमपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस तीव्र भयो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टी रूपान्तरणको आवाज बलियो बन्दै गएपछि देउवा पक्षका कतिपय नेता पनि संस्थापनतर्फ लागेका छन्।

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि पार्टीभित्रको विवाद समाधान हुन सकेन। त्यसपछि गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको अगुवाइमा विशेष महाधिवेशन भएको थियो।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि गगन थापा सभापति बने। त्यसयता देउवा पक्षले भने विशेष महाधिवेशनको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाउँदै छुट्टै महाधिवेशनको तयारी अघि बढाउँदै आएको छ।

देउवा पक्षमा रहेका नेताको संख्या कति?

देउवा पक्षले भने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका ५० जनाभन्दा बढी सदस्य अझै आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ। यद्यपि सानेपा फर्किएका नेताहरूको संख्या बढेसँगै यो दाबीमाथि पनि कांग्रेसभित्र बहस भइरहेको छ।

देउवा पक्षको छुट्टै महाधिवेशन तयारी समितिको संयोजक पूर्वमहामन्त्री शशांक कोइरालालाई बनाइएको छ। प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेतलगायत नेताहरू देउवा पक्षमा रहेको सूची सार्वजनिक भएको छ।

त्यस्तै आरजु राणा देउवा, मानबहादुर विश्वकर्मा, आनन्द ढुंगाना, अम्बिका बस्नेत, शंकर भण्डारी, शिव हुमागाईं, किरणराज शर्मा पौडेल, जितजंग बस्नेत, गुरु बराल, कुन्दनराज काफ्लेलगायत नेताहरूलाई पनि देउवा पक्षले आफ्नो साथमा रहेको बताएको छ।

प्रदेश सभापतिमध्ये सुदूरपश्चिमका वीरबहादुर बलायर देउवा पक्षमा रहेको बताइएको छ।

यद्यपि, यीमध्ये केही नेताको पछिल्लो राजनीतिक भूमिकाबारे फरक धारणा र दाबीसमेत सार्वजनिक भएका छन्। त्यसैले देउवा पक्षको सूचीलाई अन्तिम र औपचारिक रूपमा पुष्टि भएको सूचीका रूपमा लिन सकिने अवस्था छैन।

पूर्णबहादुर खड्का र शेखरको फरक बाटो

देउवाका निकट मानिएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले भने दुवै पक्षको महाधिवेशन प्रक्रिया रोक्दै संवादबाट विवाद समाधान गर्नुपर्ने पक्षमा देखिएका छन्।

खड्कानिकट अधिकांश केन्द्रीय नेता सानेपा फर्किसकेको दाबी कांग्रेसका नेताहरूले गरेका छन्। तर खड्का स्वयं भने तत्काल कुनै एउटा पक्षमा खुलेर नलागी पार्टी एकताका लागि संवादको पक्षमा उभिएका छन्।

त्यस्तै नेता शेखर कोइराला पनि दुवै महाधिवेशनमा सहभागी हुनुभन्दा पार्टी एकताका लागि संवाद र सहमतिमा जोड दिँदै आएका छन्। उनी देशभर पुगेर कांग्रेसलाई एकताबद्ध बनाउने पक्षमा रहेको बताइएको छ।

शेखरको साथमा को?

१४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका शेखर कोइरालाले त्यसपछि पनि पार्टीभित्र छुट्टै प्रभाव कायम राख्दै आएका छन्। पछिल्लो समीकरणमा भने उनको साथमा रहेका नेताहरूको संख्या घटेको देखिन्छ।

हाल शेखरको पक्षमा बद्रीप्रसाद पाण्डे, सञ्जय गौतम र सरिता प्रसाईंलगायत केही नेता रहेको बताइएको छ।

१४औँ महाधिवेशनमा शेखर पक्षबाट २२ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पछि देउवाले मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, किरण यादव र रुक्मिणी कोइरालालाई मनोनीत गरेपछि केन्द्रीय समितिमा शेखर पक्षसँग जोडिएका सदस्यको संख्या २६ पुगेको थियो।

तर पछिल्लो राजनीतिक समीकरणमा तीमध्ये कतिपय नेताको धारणा परिवर्तन भएको र संस्थापनतर्फ संवाद अघि बढेको दाबी गरिएको छ।

देउवाका लागि पुरानो समर्थन जोगाउने चुनौती

देउवा पक्षका नेताहरूले भने अझै ठूलो संख्यामा केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन्। अर्कोतर्फ सानेपामा भइरहेको महाधिवेशन प्रक्रियामा देउवा पक्षका पूर्वसमर्थकहरूको सहभागिता बढ्दै गएको छ।

यसले कांग्रेसको आगामी नेतृत्व चयनमा पुरानो समीकरणभन्दा फरक शक्ति सन्तुलन बन्न सक्ने संकेत गरेको छ। संस्थापन पक्षले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको बताइएको छ भने देउवा पक्षले आफ्नो छुट्टै महाधिवेशन प्रक्रियालाई निरन्तरता दिइरहेको छ।

यसबीच पूर्णबहादुर खड्का र शेखर कोइरालाले दुवै पक्षका अधिवेशन कार्यतालिका स्थगित गरी संवाद अघि बढाउन आग्रह गरिरहेका छन्। तर वडा अधिवेशनको मिति नजिकिँदै जाँदा धेरै नेता सानेपाको महाधिवेशन प्रक्रियामा सहभागी हुन थालेका छन्।

अबको मुख्य प्रश्न भनेको देउवा पक्षले दाबी गरेजस्तो ५० भन्दा बढी केन्द्रीय सदस्य उनीसँगै रहने हुन् वा वडा अधिवेशन अघि थप नेताहरू संस्थापनतर्फ जाने हुन् भन्नेमा केन्द्रित भएको छ।