Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बालेन आज अमेरिका प्रस्थान गर्दै, जलवायु संकट र अन्तर्राष्ट्रिय सहयोगमा जोड दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्री शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिका जान लागेका हुन्। उनले महासभाको उच्चस्तरीय सत्रलाई आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली भने गत आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेको छ।

जलवायु संकट र अन्तर्राष्ट्रिय सहयोग प्राथमिकतामा

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दा नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसबाट उत्पन्न चुनौतीलाई प्राथमिकतामा राख्ने तयारी गरेका छन्।

उनले जलवायु न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरेको बताइएको छ।

नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या र त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग जुटाउने विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने जनाइएको छ।

गुटेरेससँग भेटवार्ता हुने

प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

हालसम्म प्रधानमन्त्रीको अन्य कुनै द्विपक्षीय भेटवार्ताको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालयको कार्यक्रम तालिकामा उल्लेख छ।

प्रधानमन्त्री शाहको न्युयोर्क बसाइ आउने–जाने समयबाहेक तीन दिनको रहनेछ। महासभालाई सम्बोधन गरेको भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।