Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथपछि मन्त्री तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव रहेको छ। उनले काठमाडौंस्थित किङ्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन्।