Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै, अपराह्न ३ः४५ बजे प्रेस ब्रिफिङ

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महासभामा सहभागिता तथा सम्बोधन सकेर प्रधानमन्त्री शाह शनिबार, असोज १० गते नेपाल फर्किन लागेका हुन् ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा उनले महासभामा गरेको सम्बोधनलगायत विषयमा जानकारी दिइने मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्रीको स्वदेश आगमनसम्बन्धी समाचार संकलनका लागि सञ्चारमाध्यमका प्रतिनिधिलाई विमानस्थलमा आवश्यक व्यवस्थापन गर्न सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।

शाखाले सञ्चारमाध्यमका प्रतिनिधिलाई प्रधानमन्त्रीको आगमन समयभन्दा कम्तीमा आधा घण्टा अगावै प्रेस ब्रिफिङस्थलमा उपस्थित गराउन आग्रह गरेको छ ।