Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रहित प्रवर्द्धनमा नेपालको कूटनीति थप सशक्त बनाउने आधार तयार

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रहित प्रवर्द्धन गर्ने आधार तयार भएको बताएका छन्।

महासभामा सहभागी भएर स्वदेश फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले महासभाका क्रममा भएका छलफल र भेटवार्ताले नेपालको कूटनीतिक प्रभाव र सम्बन्ध विस्तारका लागि थप आधार तयार गरेको बताए।

उनका अनुसार महासभाको ८१औँ सत्रका क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा नेपालको सहभागिता र छलफलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक छविलाई थप उचाइ दिएको छ।

मन्त्री खनालले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र ऐक्यबद्धता जनाएको पनि जानकारी दिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो सम्बोधनका क्रममा नेपालको अवस्थाबारे उल्लेख गर्नुका साथै प्रधानमन्त्रीसँगको भेटमा नेपालको विपत्तिप्रति चासो व्यक्त गरेको उनले बताए।

मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुनेसमेत जानकारी दिए। सरकार गठन भएदेखि नै भारत भ्रमणको निमन्त्रणा प्राप्त भए पनि दुवै पक्षको अनुकूल समय मिलाएर भ्रमणको मिति तय गरिने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममुखी बनाउने गरी आवश्यक तयारी भइरहेको र ठोस उपलब्धि हासिल हुने गरी भ्रमणको तालिका तय गरिने बताए।