Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुल गरिएको हो।
अध्ययन बिदापछि सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले उपलब्ध गराएको तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ।
विश्वविद्यालयका अनुसार थप शिक्षक तथा कर्मचारीको अभिलेख खोजी गरी उनीहरूको हिसाबकिताब तयार गर्ने काम भइरहेको छ। हालसम्म हिसाबकिताब तयार भएका अवस्थामै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।
सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने कामसमेत भइरहेको त्रिविले जनाएको छ। विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम यकिन भएपछि सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ।
त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
उनीहरूले विश्वविद्यालयको studyleave@tu.edu.np इमेलमार्फत समेत सम्पर्क गर्न सक्ने त्रिविले जनाएको छ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ।
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल