Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकको सहयोगका कारण बैंकले दुई दशकको यात्रा पूरा गर्न सकेको बताए।
उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति र निर्देशनको पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। ग्राहकलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा लगानी बढाउने पनि उनले बताए।

साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ।
सभामा नियामक निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट वैधानिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।
यसैगरी, भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीको एक दिनको तलबसमेत जोडेर ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल
२०८३ आश्विन १६
ताजा नेपाल