Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन, दाबी–विरोध तथा जाँचबुझको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार आज मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम उम्मेदवारको नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन समितिका अनुसार असोज २१ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिनभर उम्मेदवारले प्रचार–प्रसार गर्न पाउनेछन्। असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ।
मतदानका लागि काठमाडौंका तीन स्थान तोकिएका छन्। वागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि समेत मतदान केन्द्र रहनेछ।
१५औँ महाधिवेशनका लागि जारी निर्वाचन निर्देशिकाले विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक क्रियाशील सदस्यताको अवधि तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ भने केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक पर्नेछ।
जिल्ला सभापति, प्रदेश सभापतिसहितका पदाधिकारीका लागि पनि १० वर्ष क्रियाशील सदस्यता आवश्यक पर्ने व्यवस्था छ। तर ३५ वर्षमुनिका युवा, पार्टीमा समायोजन भएर आएका तथा पेशागत–श्रमिक क्षेत्रका सदस्यका हकमा यो सीमा लागू नहुने निर्देशिकामा उल्लेख छ।
गाउँपालिका तथा नगरपालिका सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा जिल्ला उपसभापति र सचिवका लागि भने कम्तीमा पाँच वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ।
उम्मेदवारी दर्ताका क्रममा निरन्तर क्रियाशील सदस्य रहेको वर्ष प्रमाणित भएको निस्सा मनोनयनपत्रसँगै पेस गर्नुपर्नेछ। यस्तो प्रमाणित गर्ने जिम्मेवारी पार्टीका मुख्य सचिव वा मुख्य सचिवका रूपमा काम गर्ने व्यक्तिलाई दिइएको छ।
१५औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। त्यसमध्ये १७१ जना निर्वाचित हुनेछन् भने ६१ जना केन्द्रीय सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा संसदीय दलका नेता तथा सात प्रदेशका सभापति केन्द्रीय कार्यसमितिका पदेन सदस्य हुनेछन्।
संशोधित संरचनाअनुसार कांग्रेसमा चार उपसभापति र तीन महामन्त्री रहनेछन्। त्यसमध्ये महिला सहभागितालाई सुनिश्चित गर्न एक महिला उपसभापति र एक महिला महामन्त्रीको व्यवस्था गरिएको छ।
सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ। समावेशी समूहबाट नौ, खुलातर्फबाट दुई तथा सभापतिबाट मनोनीत चार गरी १५ सहमहामन्त्री रहने व्यवस्था छ। समावेशी समूहमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता भएका समुदायलाई समेटिएको छ।
केन्द्रीय कार्यसमितिमा विभिन्न समूह र क्षेत्रका प्रतिनिधित्व सुनिश्चित गरिएको छ। खुलातर्फ ४५ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपाङ्गता भएका समुदायका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
यसैगरी श्रमिक तथा पेशागत–विषयगत क्षेत्रबाट पनि केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। ३५ वर्षमुनिका युवाका लागि समेत पहिलोपटक छुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। सात प्रदेशबाट एक महिलासहित दुई–दुई जना र खुलातर्फ सात गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित परिवारका प्रतिनिधिमध्येबाट समेत एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था भएकाले १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वसँगै मनोनयनमार्फत बन्ने संरचनाले पनि केन्द्रीय कार्यसमितिको स्वरूप निर्धारण गर्नेछ।
यसपटक कांग्रेसको महाधिवेशनमा ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। ठूलो प्रतिनिधित्व, नयाँ समावेशी संरचना र युवा सहभागिताका कारण १५औँ महाधिवेशनबाट बन्ने नयाँ केन्द्रीय कार्यसमितिलाई पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल