Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले स्थानीय तहको निर्वाचनलक्षित गतिविधिमा जुट्ने भएको छ। सरकारले निर्वाचनको मिति घोषणा नगर्दै एमालेले संगठन पुनर्गठन र परिचालनलाई तीव्रता दिँदै मंसिरदेखि औपचारिक रूपमा चुनावकेन्द्रित अभियान सञ्चालन गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साता वा चैतको पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। यद्यपि, निर्वाचनको मिति भने सरकारले घोषणा गर्न बाँकी छ।
चुनावी तयारीकै सिलसिलामा एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधि सहभागी हुने पार्टीका प्रवक्ता तथा उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको तल्लो तहसम्म नेतृत्व पुनर्गठन र संगठन परिचालनलाई तीव्रता दिने निर्णय गरेको छ। बैठकले वडा र पालिका कमिटीका अधिवेशनको मितिसमेत तय गरेको छ। जसअनुसार मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीका अधिवेशन हुनेछन्।
एमालेले यसअघि २०७८ कात्तिक ६ गते वडा र ९ गते पालिका कमिटीका अधिवेशन गरेर नेतृत्व चयन गरेको थियो। ती कमिटीलाई आयोजक कमिटीमा रूपान्तरण गरी पुनः अधिवेशन गर्ने निर्णय भएको उपमहासचिव भट्टले बताए।
‘समय पुग्यो, अब अधिवेशन गर्ने हो। त्यसले गति पनि आउँछ, पार्टी पनि चलायमान हुन्छ,’ उनले भने।
स्थानीय निर्वाचनको मुख्य आधार मानिने वडा र पालिका तहमा नेतृत्व पुनर्गठन गर्नुका साथै प्रदेश तथा जिल्ला नेतृत्व र जनप्रतिनिधिलाई राष्ट्रिय भेलामा सहभागी गराउनुको उद्देश्य चुनावी तयारीलाई व्यवस्थित बनाउनु रहेको एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।
‘हाम्रो पार्टीले चुनावकेन्द्रित गतिविधि गर्ने निर्णय गरेको छ। अब हामी तल्ला तहमा केन्द्रित हुन्छौँ,’ उनले भने, ‘स्थायी कमिटी बैठकले स्थानीय र प्रदेश चुनावमा खटिने गरी कार्यतालिका बनाएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थानीय चुनावलाई लक्षित गर्दै नेताहरूलाई पालिकामा खटाइसकेको छ। एमालेले भने दसैँ, तिहार र छठ पर्व सकिएपछि नेताहरूलाई पालिकास्तरमा परिचालन गर्ने तयारी गरेको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले २०७ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा २४३ स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष जितेको थियो। तल्लो तहसम्म फैलिएको संगठनलाई चुनावी सफलताको आधार मान्दै आएको एमालेका लागि आगामी निर्वाचनमा अघिल्लो नतिजा कायम राख्नु चुनौतीपूर्ण देखिएको छ।
पार्टीले चुनावी तयारी अघि बढाए पनि आन्तरिक असन्तुष्टि भने पूर्ण रूपमा साम्य हुन सकेको छैन। गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि नेतृत्व परिवर्तनको पक्षमा रहेका नेताहरूको प्रयास सफल हुन सकेन।
अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूले आगामी निर्वाचनमा त्यसको असर पर्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्। असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त र उपमहासचिव योगेश भट्टराईलगायत नेताले ओलीको वर्तमान कार्यशैलीबाट स्थानीय निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने धारणा राखेका थिए।
यस परिस्थितिमा एमालेले संगठन पुनर्गठन र चुनावी अभियानमार्फत पार्टी पंक्तिमा उत्साह बढाउने प्रयास गरेको छ। तर आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै मतदातामाझ विश्वास कायम गर्नु पार्टीका लागि महत्वपूर्ण चुनौती हुनेछ।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्। एमालेको उपाध्यक्ष पदबाट २०७२ कात्तिक १० गते राजीनामा दिएकी भण्डारी करिब ११ वर्षपछि पार्टीको सक्रिय जिम्मेवारीमा फर्किएकी हुन्।
असोज ८ गते बसेको सचिवालय बैठकले उनलाई अध्यक्ष ओलीपछिको वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। त्यसपछि उनले अध्यक्ष ओलीबाट शपथ लिएकी थिइन्।
लामो समयपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी र वरिष्ठ नेताको जिम्मेवारी पाएकी भण्डारीले बैठकमा धारणा राख्ने अपेक्षा गरिएको थियो। तर बैठकमा उनले कुनै राजनीतिक धारणा नराखेको नेताहरूले बताएका छन्।
अध्यक्ष ओली दिउँसो १ बजेअघि नै च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए भने भण्डारी करिब २० मिनेट ढिलो बैठकमा सहभागी भएकी थिइन्। बैठक कक्षमा पुगेपछि उनले नेताहरूसँग सामान्य भलाकुसारी गरे पनि छलफलमा आफ्नो धारणा नराखेको बताइएको छ।
‘आज उहाँ बोल्नुभएन, अधिवेशनको बारेमा मात्र छलफल भयो,’ प्रवक्ता भट्टले भने।
एमालेले स्थानीय निर्वाचनको तयारीसँगै संगठनलाई चलायमान बनाउने प्रयास गरिरहँदा पार्टीभित्रको नेतृत्वसम्बन्धी असन्तुष्टि र वरिष्ठ नेताहरूको भूमिकाले आगामी राजनीतिक दिशा कस्तो हुनेछ भन्ने चासो पनि बढाएको छ।
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल